झापा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सुरक्षा भत्ता अघिल्लो पटक प्रधानमन्त्री हुँदा आफूले ४ हजार पुर्याएको बताएका छन्।
चुनावी घरदैलो अभियानका क्रममा मतदातालाई सम्बोधन गर्दै उनले ०५१ सालमा सुरु भएको सामाजिक सुरक्षा भत्ता विभिन्न सरकार फेरिँदा बढाउन नसकेको बताएका हुन्।
उनले भने- ‘सामाजिक सुरक्षा भत्ताका लागि करिब ३८ अर्ब पैसा त्यसमा खर्च भइरहेको छ। ठुलो रकम त्यसमा खर्च भइरहेको छ, ज्येष्ठ नागरिक, एक महिला, अशक्त भएका व्यक्तिहरू सबैले त्यसको लाभ लिइरहेका छन्। तर विभिन्न सरकार फेरिँदा भत्ता बढाउन सकेको छैन।’
अब नेपालमै खाना बनाउने ग्याँस निस्कन लागेको बताउँदै ओलीले पाइपबाट घरघरमा ग्याँस वितरण गर्न सकिने बताएका छन्।
उनले थप भने- ‘अहिले ग्यास निकाल्न छाडेर ताला लगाएर राखेको छ। त्यो ग्यास निकाल्नुपर्छ । पानी जस्तै ट्याङ्की राख्न सकिन्छ र घरघरमा पाइपबाट आउँछ । त्यसका लागि कुनै सिलिन्डर पनि चाहिँदैन ।’