काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको क्रियाशील सदस्यता अध्यावधिक नगर्नेहरु पार्टीको सदस्य नरहने बताएका छन् ।
मंगलबार काठमाडौं वडा नम्बर ३० स्थित पार्टीको वडा कार्यालयमा पुगेर पार्टीको क्रियाशील सदस्यताको अध्यावधिक गर्नका लागि निवेदन दिएलगत्तै सभापति थापाले सञ्चारकर्मीहरुसंग कुरा गर्दै सिंगो पार्टी पंक्तिलाई सचेत गराएका हुन् ।
उनले भने- ‘पार्टीको क्रियाशील सदस्यताको निरन्तरताका लागि अध्यावधिक गर्ने कुरा पार्टीको विधान सम्मत छ । यो आवश्यक पनि छ । त्यसैले यो काममा कसैले पनि डिस्टर्ब नगरिदिनु होला । कसैले म कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्दिन भन्नु हुन्छ भने उहाँ पार्टीको क्रियाशील सदस्य रहनु हुन्न।’
उनले पार्टीको विधान अनुसार सो काम शुरु गरिएकाले पार्टीका नेता, कार्यकर्तालाई आ–आफनो वडा पार्टी कार्यालयमा पुगेर क्रियाशील सदस्यता अध्यावधिक गर्ने काम गर्न पनि निर्देशन दिए ।
सभापति थापाले सो कामलाई पार्टीको सदस्यता खाईदिने काम गरेको भन्दै कोलाहल मच्चाउने काम गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए ।
पार्टीको सो कार्य विधानसम्मत भएकाले त्यसलाई पालना गरेर अघि बढनु पार्टीका सबै नेता, कार्यकर्ताहरुको दायित्व रहेको सभापति थापाको भनाई थियो ।
यो अभियानमा वडामा गएर सदस्यता नवीकरण नगर्नेले आगामी महाधिवेशनमा सहभागी हुन पाउँदैनन्। तर शेरबहादुर देउवा पक्षले सो कार्य नगर्ने अडान लिइरहेका छन् ।