काठमाडौं – सरकारले आगामी असार १ गतेदेखि कक्षा-११ को पठनपाठन सञ्चालन गर्ने निर्णय गरेको छ ।
शिक्षा तथा खेलकुद मन्त्रालयअन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले यस सम्बन्धमा शिक्षा विकास तथा समन्वय इकाइ केन्द्रहरूलाई पत्राचारमार्फत आधिकारिक जानकारी पठाएको हो ।
उक्त पत्रमा शैक्षिक सत्र २०८२ को एसईईको नतिजा प्रकाशन भइसकेको सन्दर्भलाई आधार मान्दै कक्षा(११ को पढाइ असार १ गतेबाट सुरु गर्ने गरी सम्बन्धित निकायहरूमा सूचना प्रवाह गर्न निर्देशन दिइएको छ ।
यसअघि एसइईको नतिजा कहिले प्रकाशन हुने र कक्षा ११ को पठनपाठन सुरु हुने भन्ने अन्यौलता थियो । विद्यार्थी र अभिभावको अन्यौलता चिर्दै शैक्षिक सुशासन कायम गरी पठनपाठनलाई प्रभावकारी बनाउन मन्त्रालयले एसइईको नतिजा चाडै प्रकाशन भएकाले पठनपाठन पनि समयमै सुरु गर्न लागेको हो ।
कक्षा ११ को पठनपाठन असार १ गतेदेखि आरम्भ गर्दा विद्यालय शिक्षाको गुणस्तरमा वृद्धि हुने अपेक्षा गरिएको छ ।