काठमाडौं – त्रिभुवन विश्वविद्यालय (त्रिवि) परीक्षा नियन्त्रण कार्यालयले ५२औँ दीक्षान्त समारोहमा सहभागी हुने योग्य विद्यार्थीका लागि अनलाइन आवेदन खुला गरेको छ।
कार्यालयका अनुसार २०८२ असार १ देखि २०८३ जेठ ३१ गतेसम्म स्नातक, स्नातकोत्तर वा एमफिल तह उत्तीर्ण गरी ट्रान्सक्रिप्ट लिएका तथा सोही अवधिमा विद्यावारिधि (पीएचडी) पूरा गरेका विद्यार्थीले असोज १ देखि कात्तिक १२ गतेसम्म अनलाइन आवेदन दिन सक्नेछन्।
विद्यार्थीलाई सहज बनाउन यसपटक त्रिविले सातै प्रदेशमा दीक्षान्त समारोहका केन्द्र तोकेको छ। बागमती, कोशी, मधेस, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा केन्द्र रहनेछन्।
अनलाइन फाराम भर्दा विद्यार्थीले आफू सहभागी हुने केन्द्रसमेत छनोट गर्नुपर्नेछ। भने एमफिल, पीएचडी तथा टपर र पदक प्राप्त गर्ने विद्यार्थीका लागि बागमती प्रदेश केन्द्र तोकिएको छ।
दीक्षान्त समारोहमा सहभागी हुन तहअनुसार शुल्क निर्धारण गरिएको छ। स्नातक तहका लागि ३ हजार रुपैयाँ, स्नातकोत्तर तथा एमफिलका लागि ३ हजार ५ सय रुपैयाँ र पीएचडीका लागि ४ हजार रुपैयाँ दीक्षान्त तथा प्रमाणपत्र शुल्क लाग्नेछ।
त्यस्तै, गाउन र स्कार्फका लागि सबै तहका विद्यार्थीले २ हजार ५ सय रुपैयाँ धरौटी बुझाउनुपर्नेछ। यसबाट ५ सय रुपैयाँ मर्मतसम्भार खर्च कट्टा गरी बाँकी रकम विद्यार्थीको बैंक खातामा फिर्ता गरिनेछ।
विद्यार्थीले बढीमा दुई जना अभिभावक सहभागी गराउन पाउनेछन्। प्रत्येक अभिभावकका लागि ४ सय रुपैयाँ फिर्ता नहुने शुल्क तोकिएको छ।
त्यसैगरी, त्रिविको लोगो अंकित प्रमाणपत्र राख्ने फोल्डरका लागि विद्यार्थीले थप ५ सय रुपैयाँ बुझाउनुपर्नेछ। सम्पूर्ण शुल्क नेपाल बैंक वा ग्लोबल आईएमई बैंकमार्फत अनलाइन बैंकिङबाट मात्र दाखिला गर्न सकिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।