AarthikBikash
बिहिबार, जेष्ठ १४, २०८३
  • होमपेज
  • राजनीति
  • अत्यधिक नाफामुखी गतिविधिले सहकारीमा समस्या : जाँचबुझ आयोग

अत्यधिक नाफामुखी गतिविधिले सहकारीमा समस्या : जाँचबुझ आयोग

  • बिहिबार, जेष्ठ १४, २०८३
अत्यधिक नाफामुखी गतिविधिले सहकारीमा समस्या : जाँचबुझ आयोग

काठमाडौं – सरकारद्वारा गठित उच्चस्तरीय जाँचबुझ आयोगले सहकारी क्षेत्रमा बढ्दो वित्तीय अनियमितता, अत्यधिक नाफामुखी गतिविधि, शाखा विस्तार, जोखिमपूर्ण क्षेत्रमा लगानी, कमजोर नियमन तथा सहकारीको मूल सिद्धान्त विपरीतका गतिविधिका कारण सहकारी क्षेत्र संकटतर्फ उन्मुख भएको निष्कर्ष निकालेको छ।

सरकारले सहकारीमा भएको बेथिति जाँचबुझ गर्न गठित आयोगले तयार पारेको प्रतिवेदनले सहकारी क्षेत्र नेपाली समाजवादउन्मुख अर्थतन्त्रको महत्त्वपूर्ण आधार भए पनि प्रभावकारी नियमन र सुशासन अभावका कारण जनविश्वासमा ठूलो ह्रास आएको निष्कर्ष निकालेको हो।

आयोगकाअनुसार सहकारी ऐन २०४८ र सहकारी ऐन २०७४ ले आवश्यक कानूनी आधार प्रदान गरे पनि कार्यान्वयन कमजोर हुँदा सहकारी क्षेत्रमा विकृति र विसंगति बढेको छ।

सहकारी संस्थाहरूले सदस्यकेन्द्रित सेवा, पारस्परिक सहयोग र आत्मनिर्भरताको मूल मान्यता छाड्दै बचत तथा ऋण कारोबारमा अत्यधिक केन्द्रित भएको प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदनले संघ, प्रदेश र स्थानीय तहबीच स्पष्ट अधिकार बाँडफाँट तथा समन्वय अभाव रहेको देखाएको छ।

बहु–नियामक निकायको संरचनाले प्रभावकारी अनुगमन, निरीक्षण तथा सुपरिवेक्षण हुन नसकेको आयोगको निष्कर्ष छ। सहकारी विभाग र सम्बन्धित निकायमा दक्ष जनशक्ति, सूचना प्रणाली तथा प्रविधिगत क्षमताको कमी देखिएको प्रतिवेदनमा उल्लेख गरिएको छ।

आयोगले सहकारी संस्थाहरूमा कार्यक्षेत्रभन्दा बाहिर गई शाखा विस्तार गर्ने, बचतकर्ताको रकम जोखिमपूर्ण क्षेत्रमा लगानी गर्ने तथा वास्तविक सदस्यभन्दा बाह्य व्यक्तिबाट निक्षेप संकलन गर्ने प्रवृत्ति बढेको जनाएको छ। कतिपय सहकारीले सहकारी सिद्धान्त विपरित अत्यधिक नाफामुखी गतिविधि अपनाएको पनि प्रतिवेदनमा उल्लेख छ।

प्रतिवेदनअनुसार सहकारी संस्थाहरूको वर्गीकरण र नियमनमा समेत स्पष्टता अभाव देखिएको छ। विभिन्न नाममा दर्ता भए पनि अधिकांश सहकारी संस्थाले वचत तथा ऋण कारोबारलाई नै मुख्य व्यवसाय बनाएको, कृषि, दुग्ध, उपभोक्ता, श्रमिक, उत्पादनमूलक तथा बहुउद्देश्यीय सहकारीका रूपमा दर्ता भए पनि व्यवहारमा धेरै संस्था वित्तीय कारोबारमै केन्द्रित भएको प्रतिवेदनमा उल्लेख गरेको छ।

आयोगले सहकारी संस्थाहरूलाई मुख्य रूपमा उत्पादन तथा सेवा व्यवसायसँग सम्बन्धित सहकारी, उपभोक्ता सहकारी र वित्तीय सहकारी गरी वर्गीकरण गर्नुपर्ने सुझाव दिएको छ।

उत्पादनमूलक सहकारीले कृषि, दूग्ध, तरकारी, बीउबिजन, हस्तकला तथा लघु उद्योगसँग सम्बन्धित गतिविधिमा केन्द्रित हुनुपर्ने प्रतिवेदनमा उल्लेख छ।

उपभोक्ता सहकारीलाई सामुदायिक सेवा र उपभोगसँग जोडिनुपर्ने सुझाव दिइएको छ। वित्तीय सहकारीलाई भने सिमित दायराभित्र बचत तथा ऋण कारोबारमा केन्द्रित गराउन सरकारलाई भनेको छ।

यस्तो छ आयोगको प्रतिवेदन

सम्बन्धित समाचार