काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले संगठन विस्तारदेखि आगामी निर्वाचनको रणनीति निर्माणसम्मका लक्ष्यसहित दुईमहिने राष्ट्रिय जागरण अभियान सुरु गरेको छ।
पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले शनिबार पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमार्फत अभियानको उद्घाटन गरेका हुन्।
पार्टी प्रवक्ता प्रकाश ज्वालाका अनुसार महाधिवेशनको तयारीसँगै जनतासँगको सम्बन्ध सुदृढ बनाउने उद्देश्यले अभियान सञ्चालन गरिएको हो। अभियानका क्रममा सरकारले गरेका जनविरोधी कामको भण्डाफोरसमेत गरिने उनले बताए।
ज्वालाका अनुसार अभियान शनिबारदेखि मंसिर २५ गतेसम्म सञ्चालन हुनेछ। अभियानसँगै आगामी स्थानीय तह निर्वाचनअघि वडा र पालिका अधिवेशनसमेत सम्पन्न गर्ने पार्टीको योजना छ।
नेकपाले अभियानका लागि १९ बुँदे उद्देश्य सार्वजनिक गरेको छ। राष्ट्रिय स्वाधीनता, लोकतान्त्रिक अधिकार, सुशासन, सामाजिक न्याय र जनजीविकाका सवालमा जनतालाई सचेत बनाउँदै जनताका मुद्दालाई संगठित रूपमा उठाउने पार्टीको लक्ष्य छ।
महँगी, बेरोजगारी, भ्रष्टाचार, कालोबजारी, बेथिति र असुरक्षाविरुद्ध जनताको आवाज बुलन्द बनाउने अभियानको प्राथमिकतामा छन्। प्राकृतिक विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत, क्षतिपूर्ति र पुनःस्थापनाका लागि पहल गर्ने योजना पनि पार्टीले अघि सारेको छ।
अभियानमार्फत नेकपाले संगठनलाई तल्लो तहसम्म विस्तार गर्ने तयारी गरेको छ। पार्टी सदस्यता नवीकरण तथा विस्तार, बाँकी संगठनात्मक समायोजन, वडा र पालिका तहसम्म संगठन विस्तार तथा पार्टी कार्यालय स्थापना अभियानका प्रमुख कार्यसूचीमा छन्।
त्यस्तै, आगामी महाधिवेशनलाई लक्षित गर्दै पार्टी सदस्य, शुभेच्छुक र सर्वसाधारणबाट राजनीतिक, वैचारिक, संगठनात्मक, आर्थिक तथा कार्यशैलीसम्बन्धी सुझाव संकलन गरिनेछ। पार्टीको प्रचार, प्रकाशन र डिजिटल सञ्चार प्रणालीलाई प्रभावकारी बनाउनुका साथै महिला, युवा, विद्यार्थी, श्रमिक र किसानलगायत विभिन्न समुदायको सहभागिता तथा नेतृत्व विकासमा जोड दिइने नेकपाले जनाएको छ।
अभियानलाई संगठन विस्तारमा मात्र सीमित नराखी आगामी निर्वाचनको तयारीसँग पनि जोड्ने नेकपाको योजना छ। विभिन्न राजनीतिक दल तथा शक्तिको अवस्था, प्रभाव र जनाधार अध्ययन गरी स्थानीय तह र प्रदेशसभा निर्वाचनका लागि रणनीति तयार गरिनेछ।
पार्टीको राजनीतिक विचार र कार्यक्रम जनतामाझ स्पष्ट पार्दै निर्वाचनको तयारी अघि बढाउने पनि अभियानको उद्देश्य रहेको नेकपाले जनाएको छ।
नेकपाको राष्ट्रिय जागरण अभियानका १९ उद्देश्य
१. राष्ट्रिय सार्वभौमसत्ता, स्वाधीनता, भौगोलिक अखण्डता र राष्ट्रिय हितको संरक्षणका लागि जनजागरण सिर्जना गर्ने ।
२. लोकतान्त्रिक अधिकार, गणतन्त्र, संविधान, विधिको शासन, सुशासन र सामाजिक न्यायका विषयमा जनमत निर्माण गर्ने ।
३. महँगी, बेरोजगारी, भ्रष्टाचार, कालोबजारी र जनविरोधी गतिविधिविरुद्ध जनताको आवाज संगठित गर्ने ।
४. राष्ट्रिय हित, स्वतन्त्र परराष्ट्र नीति र राष्ट्रिय सुरक्षाबारे जनतालाई सचेत बनाउने ।
५. प्राकृतिक विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत, क्षतिपूर्ति र पुनःस्थापनाका लागि पहल गर्ने ।
६. पार्टी सदस्यता नवीकरण गरी अभिलेख व्यवस्थित बनाउने ।
७. नयाँ सदस्यता विस्तार गरी योग्य व्यक्तिलाई पार्टीमा संगठित गर्ने ।
८. पार्टी तथा जनवर्गीय संगठनको समायोजन पूरा गरी संगठनलाई सक्रिय र व्यवस्थित बनाउने ।
९. टोल तथा बस्तीसम्म राजनीतिक प्रशिक्षण र जनसम्बन्ध विस्तार गर्ने ।
१०. आगामी महाधिवेशनका लागि पार्टी सदस्य तथा जनताबाट विभिन्न विषयमा सुझाव संकलन गर्ने ।
११. जिम्मेवारी निर्धारण, कार्यसम्पादन, अनुगमन र मूल्यांकन प्रणाली विकास गर्ने ।
१२. बाँकी जिल्ला, पालिका तथा वडा तहमा पार्टी कार्यालय स्थापना गर्ने ।
१३. वडा, पालिका, जिल्ला, प्रदेश र केन्द्रबीच नियमित रिपोर्टिङ प्रणाली लागू गर्ने ।
१४. पार्टीको प्रचार, प्रकाशन र डिजिटल सञ्चार प्रणालीलाई आधुनिक तथा प्रभावकारी बनाउने ।
१५. महिला, युवा, विद्यार्थी, श्रमिक, किसान तथा विभिन्न सामाजिक समुदायको सहभागिता र नेतृत्व विकासमा जोड दिने ।
१६. देशभक्त, लोकतान्त्रिक तथा वामपन्थी शक्ति, नागरिक समाज र बुद्धिजीवीसँग संवाद र सहकार्य गर्ने ।
१७. विभिन्न राजनीतिक दलको अवस्था, प्रभाव र जनाधारको अध्ययन गरी आगामी निर्वाचनका लागि रणनीति तयार गर्ने ।
१८. पार्टीको राजनीतिक कार्ययोजना, विचार र कार्यक्रमबारे स्पष्ट पार्ने ।
१९. आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनका लागि आवश्यक तयारी गर्ने ।