AarthikBikash
बिहिबार, जेष्ठ १४, २०८३
  • होमपेज
  • राजनीति
  • परराष्ट्र मन्त्रालयले राजदूत नियुक्तिका लागि खुलायो आवेदन

परराष्ट्र मन्त्रालयले राजदूत नियुक्तिका लागि खुलायो आवेदन

  • बिहिबार, जेष्ठ १४, २०८३
परराष्ट्र मन्त्रालयले राजदूत नियुक्तिका लागि खुलायो आवेदन

काठमाडौं – परराष्ट्र मन्त्रालयले इतिहासमै पहिलोपटक खुला प्रतिस्पर्धामार्फत राजदूत नियुक्ति प्रक्रिया अघि बढाएको छ ।

मन्त्रालयले ‘टर्म्स अफ रेफरेन्स : एम्बेसडर अफ नेपाल’ सार्वजनिक गर्दै विभिन्न देशका लागि योग्य नेपाली नागरिकबाट आवेदन आह्वान गरेको हो ।

परराष्ट्र मन्त्रालयका अनुसार राजदूत पदका लागि आवेदन दिने अन्तिम मिति २०८३ जेठ २२ गतेसम्म तोकिएको छ ।

मन्त्रालयले चीन, अमेरिका, भारतसहित १३ देशका लागि राजदूत नियुक्त गर्न खुला आवेदन मागेको जनाएको छ ।

मन्त्रालयद्वारा जारी सूचनामा भनिएको छ, “विभिन्न देशहरूमा नेपालको राजदूत पदमा नियुक्तिका लागि दक्ष, अनुभवी र योग्य नेपाली नागरिकहरूबाट आवेदन माग गरिएको छ ।”

राजदूत नियुक्तिका लागि १५ वटा न्यूनतम योग्यता निर्धारण गरिएको छ । आवेदन दिने व्यक्ति कम्तीमा ३५ वर्ष उमेर पुगेको नेपाली नागरिक हुनुपर्नेछ भने नेपाल सरकारबाट मान्यता प्राप्त विश्वविद्यालयबाट न्यूनतम स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने उल्लेख गरिएको छ ।

यस्तै, सरकारी सेवाबाट बर्खास्त गरिएको, भविष्यमा सरकारी सेवाका लागि अयोग्य ठहरिएको वा भ्रष्टाचार तथा नैतिक पतनसँग सम्बन्धित अपराधमा अदालतबाट दोषी ठहरिएका व्यक्तिले आवेदन दिन नपाउने व्यवस्था गरिएको छ ।

विदेशको स्थायी वा अस्थायी बसोबास अनुमति (रेसिडेन्सी/ग्रीन कार्ड) लिएका व्यक्तिहरू पनि अयोग्य हुने जनाइएको छ ।

मन्त्रालयले नेपालको विदेश नीति, अन्तर्राष्ट्रिय सम्बन्ध तथा द्विपक्षीय वा बहुपक्षीय कूटनीतिमा अनुभव भएका व्यक्तिलाई प्राथमिकता दिने जनाएको छ ।

आवेदकमा अंग्रेजी भाषाको राम्रो ज्ञान आवश्यक पर्नेछ भने सम्बन्धित मुलुकको आधिकारिक भाषाको ज्ञान भए थप योग्य मानिने उल्लेख छ ।

त्यस्तै, प्रस्तावित पदस्थापनाको देशसँग कुनै स्वार्थको द्वन्द्व वा निहित स्वार्थ हुन नहुने, अन्तर्राष्ट्रिय सहयोगबाट सञ्चालित गैरसरकारी संस्थामा हाल कार्यरत नभएको तथा उच्च नैतिक चरित्र भएको हुनुपर्ने मापदण्ड पनि तय गरिएको छ ।

सम्बन्धित समाचार