काठमाडौं – प्रतिनिधिसभाको आजको बैठकमा पनि श्रम संस्कृति पार्टीको अवरोध कायमै रहेको छ ।
सभामुख डोलप्रसाद अर्यालले परराष्ट्रमन्त्री शिशिर खनाललाई बोल्न समय दिएपछि श्रम संस्कृति पार्टीका सांसदहरू उठरे विरोध गरेका हुन् ।
श्रम संस्कृति पार्टीका सांसदहरूले विरोध जनाइरहे पनि परराष्ट्रमन्त्री खनालले आफ्नो भारत भ्रमणबारे जानकारी गराएका थिए ।
सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको पहलपछि प्रतिनिधिसभामा रहेको अवरोध खुलेको छ ।
सभापति लामिछानेले राखेको सर्वदलीय बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले दिएको अभिव्यक्ति समेतलाई ध्यानमा राखेर परराष्ट्रमन्त्री शिशिर खनालले सीमा विवादबारे सरकारको धारणा सार्वजनिक गर्ने गरी संसद्को अवरोध खुलेको हो ।
यही जेठ १७ गते प्रधानमन्त्री बालेनले प्रतिनिधिसभाको बैठकमा सांसदहरूका प्रश्नको जवाफ दिएका थिए । त्यसक्रममा नेपालले समेत भारतको जमिन मिचेको भनेर अभिव्यक्ति दिएका थिए ।
उनले भनेका थिए–‘तपाईंहरूलाई एउटा कुरा अचम्म लाग्छ होला, मैले पनि अस्ति प्रधानमन्त्री भएपछि नै थाहा पाएँ– भारतले नेपालको जग्गा मात्र हैन नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ ।’
प्रधानमन्त्रीको यस्तो अभिव्यक्ति आएको भोलिपल्टदेखि लामिछानेले पाँच दिने भारत भ्रमण गरे । लगत्तै परराष्ट्रमन्त्री शिशिर खनालले पनि भारत भ्रमण गरे ।
भारत भ्रमणका क्रममा भएका संवाद र नेपालले राखेका विषय सहित सीमा विवादबारे सरकारको प्रष्ट धारणा परराष्ट्रमन्त्रीले राख्ने गरी संसद्को अवरोध खुलेको हो ।
तर, प्रधानमन्त्रीको अभिव्यक्तिमा परराष्ट्रमन्त्रीले जवाफ दिने सहमतिमा श्रम संस्कृति पार्टीले भने असहमति राखेको हो । श्रम संस्कृती पार्टीका अध्यक्ष हर्क साम्पाङले भने–‘एउटाले गल्ति गर्छ अर्कोले जवाफ दिने भन्ने हुँदैन ।’