काठमाडौं– देशभर लगातारको वर्षासँगै आएको बाढी, पहिरो तथा सडक मर्मतका कारण विभिन्न प्रदेशका प्रमुख राजमार्गमा सवारी आवागमन प्रभावित भएको छ। नेपाल प्रहरीका अनुसार आज बिहान ८ बजेसम्म केही सडक पूर्ण रूपमा बन्द भएका छन् भने केही सडक एकतर्फी रूपमा मात्रै सञ्चालन भइरहेका छन्। कोशी प्रदेशमा भोजपुर नगरपालिका–५ बोखिमस्थित मध्यपहाडी लोकमार्ग बाढीका कारण एकतर्फी सञ्चालनमा आएको छ। त्यस्तै, इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्गमा पहिरो खसेपछि सवारी साधन एकतर्फी रूपमा सञ्चालन भइरहेका छन्।
बागमती प्रदेशमा काठमाडौं–नेपालथोक–कटुन्जे सडकखण्ड सम्भावित बाढीको जोखिमका कारण बन्द गरिएको छ। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–४ महालक्ष्मीस्थित कुलेखानी–फाखेल–फर्पिङ–काठमाडौं सडकखण्ड सडक मर्मतका लागि पूर्ण रूपमा बन्द गरिएको छ। प्रहरीका अनुसार उक्त सडक करिब एक महिनासम्म बन्द रहनेछ। यस्तै, रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ स्थित नेपाल–चीन जोड्ने रसुवागढी मितेरी पुल मर्मतका कारण असार १७ गतेसम्म पूर्ण रूपमा बन्द गरिएको छ।
मकवानपुरको बकैया गाउँपालिका–१२ बिङ्गन क्षेत्रमा पहिरोका कारण कान्तिलोकपथ पूर्ण रूपमा अवरुद्ध छ। ललितपुरको बागमती गाउँपालिका–३ छम्पी क्षेत्रमा अविरल वर्षापछि भट्टेडाँडा–हेटौंडा ९कान्तिलोकपथ० सडकखण्ड पनि पूर्ण रूपमा बन्द रहेको प्रहरीले जनाएको छ। उता, काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–११ कालढुंगामा बाढीका कारण बीपी राजमार्ग एकतर्फी रूपमा सञ्चालन भइरहेको छ। लुम्बिनी प्रदेशमा अर्घाखाँचीको पाणिनी गाउँपालिका–२ दुड्खोला क्षेत्रमा पहिरो खसेपछि सालझण्डी–ढोरपाटन सडकखण्ड पनि एकतर्फी रूपमा सञ्चालनमा आएको छ ।