काठमाडौं – सर्वोच्च अदालतले नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी)का सञ्चालकहरुलाई तत्काल पक्राउ नगर्न अन्तरिम आदेश दिएको छ ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बैंकका अध्यक्ष पृथ्वीबहादुर पाण्डेसहितका सञ्चालकहरुलाई पक्राउ गर्न वारेन्ट जारी गरेपछि बैंक सर्वोच्च अदालत पुगेको थियो ।
उक्त रिटमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतले पक्राउ नगर्न आदेश जारी गरेको हो ।
स्मार्ट सेल प्रकरणमा अनुसन्धानका लागि भन्दै सीआईबीले गत शुक्रबार नै पक्राउ अनुमति लिएको थियो । सोको जानकारी पाएपछि बैंक सर्वोच्च पुगेको थियो ।
अदालतले सीआईबीलाई अर्को आदेश नभएसम्म पक्राउ नगर्न र पक्राउ गर्नुको कारणसहित छलफलका लागि एक सातापछि बोलाएको छ ।
सर्वोच्च अदालतका न्यायाधीश टेकप्रसाद ढुंगानाको एकल इजलासले गरेको आदेशमा भनिएको छ–‘ …साथै, दुबै पक्षको उपस्थितिमा छलफल भई अन्तरिम आदेश जारी हुने वा नहुने प्रश्नको टुंगो नलागेसम्म रिट निवेदकहरुलाई उक्त विषयको अनुसन्धान प्रयोजनको लागि पक्राउ नगर्नु नगराउनु भनी सर्वोच्च अदालत नियमावली, २०७४ को नियमा ४९ को उपनियम २ बमोजिम यो अल्पकालिन अन्तरिम आदेश जारी गरिएको छ ।’
बैंक तथा वित्तिय संस्थाका सञ्चालक एवं पदाधिकारीहरुलाई विना कारण पक्राउ गर्दा एकातिर सर्वसाधरणको निक्षेप जोखिमा पर्ने र अर्कोतिर राष्ट्र बैंकको क्षेत्राधिकारमा प्रहरी हस्तक्षेप भएको भन्दै विरोध हुँदै आएको छ ।
खराब कर्जा असुली गर्ने प्रयोजनका लागि धितो लिलाम गर्दा पक्राउ त गर्नु परैको कुरा कुनै कारबाही नै गर्न नपाइने राष्ट्र बैंककै एक निर्देशक बताउँछन् ।
सीआईबीले अनुन्धान गर्दा गर्दै कुनै पनि बैंक तथा वित्तिय संस्थाका सञ्चालक तथा पदाधिकारी खाता रोक्का गर्नु पनि गलत रहेको ती निर्देशक बताउँछन् ।