काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज नेपालमा लगानी गरेका बहुराष्ट्रिय कम्पनीका सञ्चालकहरूसँग छलफल सुरु गरेका छन्।
आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयन छलफल शृङ्खलाअन्तर्गत नेपालमा लगानी गरेका २० ठूला करदाता बहुराष्ट्रिय कम्पनीहरूसँग छलफल गरिरहेका हुन् ।
मन्त्रालयको सुवर्ण हलमा केहीबेर अघिदेखि जारी छलफलमा अर्थमन्त्री वाग्लेले बहुराष्ट्रिय कम्पनीहरूलाई बजेटले दिएको सुविधा, उनीहरूले भोगिरहेका समस्या र नेपालमा लगानी विस्तार, रोजगारी सिर्जना र प्रतिफल फिर्ता लैजान सरकारले गर्नुपर्ने सहजीकरणका सम्बन्धमा खुलस्त भएर आफ्नो कुरा राख्न र लिखित रूपमा पनि विवरण पेश गर्न आग्रह गरेका छन् ।
छलफलमा अर्थमन्त्री वाग्लेले निजी क्षेत्रको सफलता नै नेपालको आर्थिक सफलताको मुख्य आधार भएको पनि बताए ।
उनले आर्थिक विकास कुनै एक मन्त्रालय वा नीतिको प्रयासबाट मात्र सम्भव नहुने भन्दै ‘होल अफ द नेशन’ अर्थात् एकीकृत राष्ट्रिय दृष्टिकोण आवश्यक रहेको बताए । सरकारले निजी क्षेत्रलाई शङ्काको दृष्टिले नभई विकासको अभिन्न साझेदारका रूपमा हेरेको उनको भनाइ छ ।
उद्योगले कमाएको नाफाबाट पुनरलगानी बढ्ने, त्यसबाट रोजगारी र आम्दानी सिर्जना हुने तथा अन्ततः राज्यको राजस्वमा समेत योगदान पुग्ने भन्दै वाग्लेले सरकार र निजी क्षेत्रको सम्बन्ध परिपूरक रहेको बताए ।
साथै, वैध रूपमा गरिएको लगानी र आर्जित मुनाफाको सुरक्षा गर्ने पूर्ण जिम्मेवारी सरकारले लिने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।
यसै शृङ्खलाअन्तर्गत यसअघि अर्थमन्त्री वाग्लेले नेपालमा उत्पादनमूलक उद्योग सञ्चालन गरेर ठूलो मात्रामा रोजगारी सिर्जना गरेका र अर्थतन्त्रमा योगदान गरेका ३३ औद्योगिक घरानासँग छलफल गरिसकेका छन्।
यस्तै, उनले नेपालका ‘क’ वर्गका वाणिज्य बैङ्कका प्रमुख कार्यकारी अधिकृत र नेपाल राष्ट्र बैङ्कका कार्यकारी निर्देशकहरूसँग पनि छलफल गरेका थिए ।