काठमाडौं – भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि ग्लोबल आइएमई बैंकले ५ करोड रुपैयाँ सहयोग गर्ने भएको छ।
बैंकले उक्त रकम ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा जम्मा गर्ने घोषणा गरेको हो।
बैंकका अनुसार सहयोग रकम बेपत्ताको खोज तथा उद्धार, घाइतेको उपचार, प्रभावित परिवारलाई खाद्यान्न तथा अस्थायी बसोबासको व्यवस्था र क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा उपयोग गर्न सहयोग पुग्नेछ।
भोटेकोशीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायत नदी तटीय क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ। बाढीमा परी धेरैको ज्यान गएको छ भने केही अझै बेपत्ता छन्। सयौँ परिवार विस्थापित भएका छन्।
बैंकले विपद्मा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ।
ग्लोबल आइएमई बैंकले यसअघि पनि भूकम्प, महामारीलगायत विभिन्न विपद्का समयमा आर्थिक तथा मानवीय सहयोग गर्दै आएको जनाएको छ।