काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’को सचिवालयमा २५ जना पदाधिकारी कार्यरत रहेको विवरण सार्वजनिक भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको सूचीमा सल्लाहकार, विज्ञ तथा स्वकीय सचिवालयमा कार्यरत पदाधिकारीको नाम, जिम्मेवारी र सेवा–सुविधाको तहसमेत खुलाइएको छ।
सार्वजनिक विवरणअनुसार तीन जनाले मन्त्रीसरह सुविधा पाउँछन्। मुख्य सल्लाहकार कुमार ब्यञ्जनकार, राजनीतिक सल्लाहकार असिम शाह र स्वास्थ्य सल्लाहकार प्रा।डा। जगदीशप्रसाद अग्रवाललाई मन्त्रीसरह सुविधा दिइएको छ। ब्यञ्जनकार र अग्रवाल भने अवैतनिक रूपमा कार्यरत छन्।
यसैगरी नीति, प्रशासन तथा सुशासन सल्लाहकार सुदीप ढकाल र सूचना तथा सञ्चार प्रविधि सल्लाहकार विवेक मिश्रलाई राज्यमन्त्रीसरह सुविधा दिइएको छ।
सचिवालयका प्रमुख स्वकीय सचिव सुवास शर्मालाई सचिवसरहको सुविधा दिइएको छ। नवीन भण्डारी, सञ्जीव पाण्डे, दीपा दाहाल, सन्तोष गिरी र विश्व राई सहसचिवसरहको सुविधामा कार्यरत छन्।
त्यस्तै प्रकृति ढकाल, विशाल अधिकारी, विनय शाक्य, सुमन गौतम र रवि किरण अधिकारी उपसचिवसरहको सुविधामा छन्। सुरेन्द्र बजगाईं, रोशन तामाङ, बेदानन्द जोशी र हेम नारायणदास चौधरी शाखा अधिकृतसरहको सुविधामा कार्यरत रहेको विवरणमा उल्लेख छ।
प्रशासन तथा प्राविधिकतर्फ अनुप थापामगर, ऋषि थापा, अमृत पाण्डे, राजकुमार गौतम र बेनिस कार्की नायब सुब्बासरहको सुविधामा कार्यरत छन्।
२७ जनाबाट २५ जना कसरी ?
प्रधानमन्त्री कार्यालयले यसअघि प्रतिनिधि सभामा दिएको लिखित जवाफमा प्रधानमन्त्रीको सचिवालयमा २७ जना नियुक्त रहेको जानकारी दिएको थियो। सचिवालयका लागि कुल ४८ जनाको दरबन्दी रहेको पनि कार्यालयले जनाएको थियो।
तर शुक्रबार सार्वजनिक गरिएको नयाँ नामावलीमा भने २५ जनाको मात्र विवरण समेटिएको छ। यसअघि २७ जना नियुक्त रहेको जानकारी दिइएको र अहिले २५ जनाको नाम सार्वजनिक हुनुको कारणबारे कार्यालयको पछिल्लो विवरणमा स्पष्ट पारिएको छैन।
यसले प्रधानमन्त्रीको सचिवालयमा वास्तविक रूपमा कति जना कार्यरत छन् र दुई जनाको विवरण किन हट्यो भन्ने प्रश्न उठाएको छ।
प्रधानमन्त्री शाहले २७ मार्च २०२६ मा पदभार सम्हालेका थिए।