काठमाडौं – सरकारले खाना पकाउने ग्यास (एलपीजी)को सम्भावित अभाव टार्न सुरक्षा निकायलाई समेत ग्यास बिक्री–वितरणको जिम्मा दिने तयारी गरेको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका आउटलेटबाट समेत ग्यास वितरण गर्नेगरी तयारी भइरहेको जानकारी दिएका हुन्।
विकास, आर्थिक मामिला तथा सुशासन समितिले आयोजना गरेको ‘दैनिक उपभोग्य वस्तुको सहज आपूर्ति व्यवस्थापन र अनुगमन’ विषयक कार्यक्रममा बोल्दै उनले पेट्रोलियम पदार्थ बिक्री गर्दै आएका सुरक्षा निकायका आउटलेटबाट ग्याससमेत वितरण गर्न सके आपूर्ति सहज हुने बताए।
‘सुरक्षा निकायको आउटलेटबाट पनि ग्यास वितरण गर्न सकेको खण्डमा धेरै सहज हुनेछ,’ सचिव तामाङले भने।
उनका अनुसार पेट्रोल बिक्री गर्दै आएका सुरक्षा निकायका आउटलेटमध्ये कम्तीमा एक–दुई स्थानबाट ग्याससमेत वितरण गर्नेगरी आवश्यक तयारी भइरहेको छ।
निगमले पछिल्लो समय दैनिक औसत ४० हजार सिलिन्डर ग्यास उपत्यकामा वितरण भइरहेको जनाएको छ। तर आपूर्ति बढाउँदा पनि बजारमा देखिएको माग र वितरणको असन्तुलनका कारण उपभोक्ताले सहज रूपमा ग्यास पाउन नसकेको अवस्था छ।
सचिव तामाङले सम्भावित ग्यास अभावलाई ध्यानमा राख्दै आपत्कालीन अवस्थामा समेत आपूर्ति सहज बनाउने वैकल्पिक व्यवस्था तयार पार्न लागिएको बताए।