AarthikBikash
शनिबार, अशोज १७, २०८३
  • होमपेज
  • समाज
  • नवलपरासीमा यात्रुवाहक बस दुर्घटना : ६ जनाको मृत्यु, १० घाइते

नवलपरासीमा यात्रुवाहक बस दुर्घटना : ६ जनाको मृत्यु, १० घाइते

  • शनिबार, अशोज १७, २०८३
नवलपरासीमा यात्रुवाहक बस दुर्घटना : ६ जनाको मृत्यु, १० घाइते

नवलपरासी – नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–२ एस मोडस्थित पूर्व–पश्चिम राजमार्गमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्।

नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको प्रदेश ३–०१–००६ ख १५५३ नम्बरको बस चालकले नियन्त्रण गुमाउँदा सडकबाट नालामा पल्टिएको हो ।

बसमा चालकसहित १८ जना सवार थिए। दुर्घटनामा ६ जनाको मृत्यु भएको, १० जना घाइते भएको र दुई जना सकुशल रहेको प्रहरीले जनाएको छ।

मृतकमध्ये जाजरकोटको भेरीगंगा नगरपालिका–३ का ५० वर्षीय निर्जुङ खत्रीको पहिचान खुलेको छ। अन्य पाँच मृतकको परिचय खुल्न बाँकी रहेको छ।

दुर्घटनामा घाइते हुनेमा गोरखाका हरिशरण थापा, अछामका तेजेन्द्रप्रसाद भण्डारी, बर्दियाकी आकृति, बाजुराका पवन बुढा, बर्दियाका सञ्जय थारु, बाजुराका प्रेम बम, ललितपुरका अनोज खत्री, बर्दियाका लालबहादुर कार्की, बाँकेका अस्लाम भगवान र सल्यानका अनिल बुढाथोकी रहेका छन्।

दुर्घटनाको खबर पाएलगत्तै प्रहरी निरीक्षक थमनसिंह रानाको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले घाइतेहरूको उद्धार गरी मध्यविन्दु प्रादेशिक अस्पताल, डण्डामा उपचारका लागि पठाएको जनाएको छ।

सम्बन्धित समाचार