काठमाडौं – प्रधानमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले नेपाली कांग्रेसका सभापति गगनकुमार थापाको अभिव्यक्तिको जवाफ फर्काएका छन् ।
कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोहमा थापाले संसद् खुला र जीवन्त बहसको थलो बन्नुपर्ने बताएका थिए । त्यसको जवाफ दिँदै बालेनले सामाजिक सञ्जालमार्फत व्यंग्यात्मक टिप्पणी गरेका हुन् ।
थापाले आइतबार काठमाडौंको खुलामञ्चमा आयोजित महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुलुकमा लोकतान्त्रिक अभ्यासका लागि हरेक क्षेत्रमा ‘खुलामञ्च’ आवश्यक रहेको बताएका थिए ।
संसद्मा प्रधानमन्त्रीको उपस्थितिलाई लिएर उनले भनेका थिए, ‘खुलामञ्च त संसद्मा चाहिएको छ। तर दुर्भाग्य, अहिले संसद् खुला छैन, बन्द छ। जुन दिनसम्म प्रधानमन्त्री संसद्मा सम्मानपूर्वक उपस्थित हुनुहुन्न, त्यो दिनसम्म संसद् खुला छैन, बन्द नै मानिनेछ।’
त्यसको जवाफमा बालेनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘धन्न खुलामञ्च राम्रो बनाइएछ, नयाँ पार्टीले कार्यक्रम गरेर गाली गर्न पाएका छन् !’