AarthikBikash
सोमवार, अशोज १९, २०८३
  • होमपेज
  • समाज
  • दसैँको अग्रिम टिकट बुकिङबारे मंगलबार निर्णय हुँदै

दसैँको अग्रिम टिकट बुकिङबारे मंगलबार निर्णय हुँदै

  • सोमवार, अशोज १९, २०८३
दसैँको अग्रिम टिकट बुकिङबारे मंगलबार निर्णय हुँदै

काठमाडौं – दसैँका लागि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ कहिलेदेखि खुलाउने भन्ने टुंगो लगाउन यातायात व्यवस्था विभागले मंगलबार सरोकारवालाको बैठक बोलाएको छ।

चाडपर्व नजिकिँदै गए पनि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ औपचारिक रूपमा खुल्न नसक्दा काठमाडौं उपत्यकाबाट घर फर्कने तयारीमा रहेका यात्रु अन्योलमा छन्। यही विषयमा छलफल गरी आवश्यक निर्णय लिन विभागले मंगलबार बिहान यातायात व्यवसायी, मजदुर संगठन र ट्राफिक प्रहरीसहितका सरोकारवालालाई बोलाएको हो।

केही यातायात कम्पनीले भने अनलाइनमार्फत टिकट बुकिङ सुरु गरिसकेका छन्। तर सबै सार्वजनिक यातायातका लागि अग्रिम बुकिङ खुल्ने मिति तय नभएकाले यात्रुको अन्योल कायमै छ।

विभागले बैठकमा प्रहरी प्रधान कार्यालयअन्तर्गत राजमार्ग तथा सुरक्षा महाशाखा, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका प्रतिनिधिलाई बोलाएको छ।

त्यस्तै, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, अखिल नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघ, नेपाल ट्रक यातायात व्यवसायी संघ र ल्होत्से बहुउद्देश्यीय सहकारी संघलाई पनि बैठकमा आमन्त्रण गरिएको छ।

बैठकमा अग्रिम टिकट बुकिङ खोल्ने मिति मात्रै होइन, दसैंमा बढ्ने यात्रुको चाप व्यवस्थापन, सार्वजनिक यातायातको उपलब्धता तथा सुरक्षित र व्यवस्थित यात्राका विषयमा समेत छलफल हुने अपेक्षा गरिएको छ।

यस वर्ष दसैं अवधिभर काठमाडौं उपत्यकाबाट १० लाखभन्दा बढी यात्रु बाहिरिने आकलन गरिएको छ।

दसैंमा एकैपटक यात्रुको चाप बढ्दा टिकट अभाव हुने, बसपार्कमा लामो लाइन बस्नुपर्ने र घर फर्कने यात्रुले सास्ती व्यहोर्नुपर्ने समस्या विगतदेखि दोहोरिँदै आएको छ।

चाडपर्व नजिकिँदै गर्दा पनि अग्रिम टिकट बुकिङको औपचारिक निर्णय हुन बाँकी रहेकाले मंगलबारको बैठकलाई यात्रुका लागि महत्वपूर्ण रूपमा हेरिएको छ। बैठकबाट टिकट बुकिङ खुलाउने समयसँगै दसैंको यातायात व्यवस्थापनबारे आवश्यक निर्णय हुने अपेक्षा गरिएको छ।

अघिल्लो समाचार

Android Automaten Spins Ohne Umsatzbedingungen 2026 Finden
Android Automaten Spins Ohne Umsatzbedingungen 2026 Finden

सम्बन्धित समाचार