काठमाडौं – हावाहुरीसहितको ठूलो वर्षाका कारण नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत चौथो दिनको बन्दसत्र फेरि प्रभावित भएको छ।
बिहानदेखि पटक–पटक समय सारिँदै आएको बन्दसत्र अब आज दिउँसो ४ बजेका लागि तय गरिएको छ।
बिहान साढे १० बजे सुरु गर्ने भनिएको बन्दसत्र खाजा समयपछि साढे ११ बजे सुरु गर्ने तयारी गरिएको थियो।
तर, अचानक हावाहुरीसहित ठूलो वर्षा भएपछि बन्दसत्र ४ बजेसम्मका लागि सारिएको सूचना, सञ्चार तथा प्रविधि समितिका सदस्य डा. सुरेशराज आचार्यले जानकारी दिए।
बन्दसत्रमा महाधिवेशन प्रतिनिधिहरूले विभिन्न प्रस्ताव तथा प्रतिवेदनमाथिको छलफल टुंग्याउँदै पारित गर्ने तयारी छ। वर्षाका कारण प्रभावित महाधिवेशनको बन्दसत्रलाई आजै सम्पन्न गर्ने तयारी कांग्रेसको छ।
कांग्रेसका अनुसार बन्दसत्रको प्रत्यक्ष प्रसारण पार्टीको फेसबुक पेजबाट हुनेछ। अन्य सञ्चारमाध्यमले समेत बन्दसत्र प्रत्यक्ष प्रसारण गर्न पाउने व्यवस्था गरिएको छ।
बन्दसत्रपछि कांग्रेसको महाधिवेशन नयाँ नेतृत्व चयनतर्फ अघि बढ्नेछ। नयाँ नेतृत्वका लागि भोलि बिहान मतदान हुँदैछ।
१९ पदाधिकारीका लागि ७९ उम्मेदवार
कांग्रेसको १५औँ महाधिवेशनबाट सभापति १, वरिष्ठ उपसभापति १, उपसभापति ४, महामन्त्री ३, सहमहामन्त्री १५ र कोषाध्यक्ष १ गरी २४ पदाधिकारी चयन हुनेछन्।
विधानअनुसार सहमहामन्त्रीका चार जना र कोषाध्यक्ष एक जना सभापतिले मनोनीत गर्ने व्यवस्था छ। त्यसअनुसार निर्वाचनबाट १९ जना पदाधिकारी चयन हुनेछन्।
निर्वाचन समितिले सार्वजनिक गरेको सूचीअनुसार १९ पदाधिकारीका लागि ७९ जनाको उम्मेदवारी परेको छ। सभापतिमा गगन थापा, पूर्वसहमहामन्त्री किशोरसिंह राठौर र श्यामकृष्ण खड्गीबीच प्रतिस्पर्धा हुँदैछ।
वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्माको एकल उम्मेदवारी परेको छ। विधानअनुसार एक महिला र दुई खुलातर्फ गरी चार उपसभापति चयन हुनेछन्। महिलातर्फ उपसभापतिमा पुष्पा भुसालको पनि एकल उम्मेदवारी परेको छ।
शर्मा र भुसाल दुवै हाल कांग्रेसका उपसभापति हुन्। एकातिर वर्षाले महाधिवेशनको कार्यतालिका प्रभावित गरिरहेको छ भने अर्कोतिर कांग्रेसको नयाँ नेतृत्वका लागि चुनावी प्रतिस्पर्धा निर्णायक चरणमा पुगेको छ।