काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशन वर्षाका कारण प्रभावित भएको छ। पदाधिकारीसहित विभिन्न पदका उम्मेदवारको दाबी–विरोध चलिरहेका बेला वर्षा भएपछि निर्वाचनस्थल र बन्दसत्रस्थलमा रहेका प्रतिनिधि तथा समर्थक तितरबितर भएका छन्।
निर्वाचन समितिले बुधबार बिहान प्रारम्भिक उम्मेदवारको नामावली सार्वजनिक गरेपछि केही समयमै दाबी–विरोधको प्रक्रिया सुरु भएको थियो। तर वर्षाका कारण महाधिवेशनका गतिविधिमा असर परेको हो। बन्दसत्रसमेत अझै सुरु हुन सकेको छैन।
आजको बन्दसत्रबाट विभिन्न प्रतिवेदन पारित गर्ने कार्यतालिका छ। त्यसपछि निर्वाचन प्रक्रिया पूरा गर्दै बिहीबार हुने मतदानको तयारी गर्ने कांग्रेसको कार्यतालिका रहेको छ।
महाधिवेशनबाट सभापति १, वरिष्ठ उपसभापति १, उपसभापति ४, महामन्त्री ३, सहमहामन्त्री १५ र कोषाध्यक्ष १ गरी २४ पदाधिकारी चयन हुनेछन्। विधानअनुसार सहमहामन्त्रीका चार जना र कोषाध्यक्ष एक जना भने सभापतिले मनोनीत गर्ने व्यवस्था छ। त्यसअनुसार निर्वाचनबाट १९ जना पदाधिकारी चयन हुनेछन्।
निर्वाचन समितिले सार्वजनिक गरेको प्रारम्भिक सूचीअनुसार १९ पदाधिकारीका लागि ७९ जनाको उम्मेदवारी परेको छ। सभापतिमा गगन थापा, पूर्वसहमहामन्त्री किशोरसिंह राठौर र श्यामकृष्ण खड्गीले उम्मेदवारी दिएका छन्।
वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्माको एकल उम्मेदवारी परेको छ। त्यस्तै, समावेशी महिला क्लस्टरतर्फ उपसभापतिमा पुष्पा भुसालको पनि एकल उम्मेदवारी परेको छ। शर्मा र भुसाल दुवै हाल उपसभापतिकै जिम्मेवारीमा छन्।
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भइरहेको निर्वाचन प्रक्रियामा अब दाबी–विरोधपछि अन्तिम उम्मेदवारको सूची सार्वजनिक हुनेछ। त्यसपछि बिहीबार मतदान हुने कार्यतालिका छ।