काठमाडौं – नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क नबढेको स्पष्ट पार्दै स्वीकृत दरभन्दा बढी शुल्क नलिन सेवा प्रदायकलाई चेतावनी दिएको छ ।
उपभोक्तालाई मर्का पर्ने गरी अनधिकृत रूपमा सेवा सञ्चालन गर्ने तथा नियमविपरीत शुल्क असुल्ने प्रदायकमाथि कारबाही गरिने प्राधिकरणले जनाएको छ ।
इन्टरनेट सेवाको शुल्क बढेको भन्दै विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशित भएपछि प्राधिकरणले आफ्नो धारणा सार्वजनिक गरेको हो । प्राधिकरणका अनुसार हालसम्म इन्टरनेट तथा इमेल सेवा प्रदायकबाट शुल्क वृद्धि गर्ने कुनै प्रस्ताव प्राप्त भएको छैन । प्राधिकरणले पनि शुल्क बढाउन स्वीकृति दिएको छैन ।
प्राधिकरणले दूरसञ्चार सेवा उपलब्ध गराएबापत लिइने शुल्क उचित र मनासिब हुनुपर्नेमा जोड दिएको छ । निर्देशिकाअनुसार शुल्क निर्धारण गरी लागू हुने मितिसमेत उल्लेख गरेर कम्तीमा तीन महिनाअघि स्वीकृतिका लागि पेस गर्नुपर्ने व्यवस्था रहेको उसले स्मरण गराएको छ ।
त्यस्तै, प्राधिकरणबाट स्वीकृत शुल्क दर सार्वजनिक रूपमा प्रकाशन गर्नुपर्ने, स्वीकृत दरभन्दा बढी शुल्क लिन नपाइने र पूर्वस्वीकृतिबिना शुल्क वृद्धि गर्न नहुने प्राधिकरणले स्पष्ट पारेको छ । उपभोक्तालाई मर्का पर्ने गरी अनधिकृत रूपमा सेवा सञ्चालन गर्नसमेत नपाइने उसको भनाइ छ ।
नियमविपरीत शुल्क असुल्ने वा अन्य गैरकानुनी गतिविधि गर्ने सेवा प्रदायकमाथि दूरसञ्चार ऐन तथा नियमावलीबमोजिम कारबाही गरिने प्राधिकरणले चेतावनी दिएको छ ।