AarthikBikash
बुधबार, कार्तिक १९, २०८३
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • दीपक भट्टको बन्दीप्रत्यक्षीकरण रिटमा विशेष र उच्च अदालतबाट प्रमाण मिसिल झिकाउन आदेश

दीपक भट्टको बन्दीप्रत्यक्षीकरण रिटमा विशेष र उच्च अदालतबाट प्रमाण मिसिल झिकाउन आदेश

  • बुधबार, कार्तिक १९, २०८३
दीपक भट्टको बन्दीप्रत्यक्षीकरण रिटमा विशेष र उच्च अदालतबाट प्रमाण मिसिल झिकाउन आदेश

काठमाडौं – सर्वोच्च अदालतले व्यवसायी दीपक भट्टको बन्दीप्रत्यक्षीकरण रिट निवेदनमाथि सुनुवाइ गर्दै सम्बन्धित मुद्दाका प्रमाण मिसिल झिकाउन आदेश दिएको छ ।

बुधबार न्यायाधीशद्वय शारङ्गा सुवेदी र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले विशेष अदालत काठमाडौं र उच्च अदालत पाटनबाट प्रमाण मिसिल झिकाउन आदेश दिएको हो ।

भट्टका तर्फबाट उनका बुबा चतुर्भुज भट्टले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चले यस्तो आदेश दिएको हो । उक्त रिटमा विशेष अदालत काठमाडौंसमेतलाई विपक्षी बनाइएको छ ।

अदालतले निवेदनमा माग गरिएअनुसार यसअघि सर्वोच्च अदालतमा विचाराधीन रहेका दुईवटा मुद्दामा ‘बेरीतको आदेश बदर’ सम्बन्धी निवेदनलाई समेत प्रस्तुत रिटसँगै लगाउमा राखी नियमानुसार पेस गर्न आदेश दिएको छ ।

त्यस्तै, नेपाल सरकार वादी र दीपक भट्टसमेत प्रतिवादी रहेको सम्पत्ति शुद्धीकरण मुद्दाको सुरु प्रमाण मिसिल विशेष अदालत काठमाडौंबाट झिकाउन आदेश दिइएको छ । पेसीका दिन देखाई फिर्ता लैजाने गरी उक्त मिसिल झिकाउन अदालतले भनेको हो ।

यसैगरी, नेपाल सरकार वादी र भट्टसमेत प्रतिवादी रहेको बैंकिङ कसुर मुद्दाको प्रमाण मिसिल उच्च अदालत पाटनबाट झिकाउन आदेश भएको छ । उक्त मिसिल पनि पेसीका दिन देखाई लैजाने गरी झिकाउन भनिएको छ ।

सम्पत्ति शुद्धीकरण तथा बैंकिङ कसुरसम्बन्धी मुद्दामा न्यायिक हिरासतमा रहेका भट्टलाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै उनका बुबाले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण रिट दायर गरेका थिए । रिटमा भट्टको थुना बदर गरी रिहा गर्न माग गरिएको छ ।

सम्बन्धित समाचार