AarthikBikash
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • राजनीति
  • प्रदेश सांसद पिके राईमाथिको दुर्व्यवहार सुनियोजित : एमाले

प्रदेश सांसद पिके राईमाथिको दुर्व्यवहार सुनियोजित : एमाले

  • आइतवार, चैत्र २६, २०७९
प्रदेश सांसद पिके राईमाथिको दुर्व्यवहार सुनियोजित : एमाले

खोटाङ-नेकपा एमाले खोटाङले प्रदेशको नामाकरणको विषयलाई लिएर सुनियोजितढंगबाट प्रदेश सांसद पाँचकर्ण राई (पिके)माथि दुव्र्यवहारको प्रयास भएको जनाएको छ ।

जिल्ला समन्वय समितिको सातौं जिल्लासभामा अतिथिका रुपमा बोलाइएका प्रदेश सांसद राईमाथि शनिबार पहिचान पक्षधरको नाममा पार्टीका कार्यकर्तालाई परिचालन गरेर दुव्र्यवहारको दुष्प्रयास भएको भन्दै एमालेले विज्ञाप्तिमार्फत गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

एमालेका सचिव कुमार आचार्यले आइतबार विज्ञाप्तीमार्फत कार्यक्रममा अतिथिका रुपमा आमन्त्रण गरी केही पार्टीका नेताहरुको ईसारामा योजनावद्ध ढंगले जिल्लासभाको रोस्टम प्रयोग गरी एमालेबाट निर्वाचित प्रदेश सांसद राईलाई आक्रमण गर्ने दुष्प्रयास भएको प्रतिक्रिया दिएका छन् ।

विज्ञाप्तिमा प्रदेशको नामाकरणको निर्णय गर्ने प्रकृयामा सहभागी भएकै दलका जनप्रतिनिधि तथा नेताहरुको इसारामा एमालेबाट निर्वाचित जनप्रतिनिधिमाथि लक्षित गरी आक्रमणको प्रयास गर्ने तथा एकतर्फी दोषारोपण गरेर निरन्तर प्रहार गर्ने हर्कतप्रति घोर भर्त्सना गरिएको छ ।

‘केही जनप्रतिनिधिको संलग्नतामा पहिचान पक्षधरको नाममा पार्टीका कार्यकर्तालाई परिचालन गरी प्रदेश नामाकरणको विषयलाई लिएर सुनियोजितढंगबाट कार्यक्रम हलभित्र प्रवेश गराई माननीय पाँचकर्ण राई (पिके)लाई दुव्र्यवहारको दुष्प्रयास गर्न खोजेको घटनाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञाप्तिमा भनिएको छ, ‘प्रदेश नामाकरणको निर्णय प्रकृयामा अधिकांश दलहरु सहभागी हुने तर निर्णय प्रकृयामा सहभागी भएका तिनै दलको जनप्रतिनिधि तथा नेताहरुको ईसारामा हाम्रो पार्टी र पार्टीबाट निर्वाचित जनप्रतिनिधिमाथि लक्षित गरी आक्रमणको प्रयास गर्ने तथा एकतर्फी दोषारोपण गरेर निरन्तर प्रहार जस्ता हर्कतप्रति घोर भर्त्सना गर्दछ ।’

यस्तो थियो घटना 

पहिचानपक्षधर समूहले जिल्लासभाको कार्यक्रम हलभित्रै सांसद राईविरुद्ध नाराबाजी गरेर कालो झण्डा देखाएका थिए । यायोक्खाका अध्यक्ष युगसन किरातले कार्यक्रम सञ्चालकसँग समय मागेर आफ्नो धारणा राखेपछि नाराबाजी सुरु गरिएको थियो । बिरोधमा उत्रिएका समुहले प्रदेश सांसद राईलाई कालो मोसो दल्ने प्रयास गरेका थिए । परैबाट हानिएको कालो पदार्थको छिटा प्रदेश सांसद राई, पुर्वसांसद कुलप्रसाद फुयाँल र जिल्ला समन्वय समितिका पुर्वप्रमुख बबी चाम्लिङको शरीरमा लागेको थियो । कार्यक्रममा प्रतिनिधिसभा सांसद रामकुमार राई प्रमुख अतिथिका रुपमा उपस्थित थिए । कोशी प्रदेशको नाममा मतदान गर्ने सांसद तथा मन्त्रीलाई जिल्ला प्रवेश नगर्न आव्हान गरिएको तर त्यस विपरित गरिएकाले बिरोध गरिएको यायोक्खाका अध्यक्ष किरातले बताए ।

बिरोधमा उत्रिएका समुहले प्रदेश सांसद भूपेन्द्र राई बिरुद्ध पनि नाराबाजी गरेका थिए । प्रदेश सांसद भुपेन्द्र भने कार्यक्रममा उपस्थित थिएनन् । बिरोध प्रदर्शन गर्नेक्रममा यायोक्खाका अध्यक्ष किरात, सह–कोषाध्यक्ष डार्विन राई, यायोक्खाको दिक्तेल रुपाकोट मझुवागढी नगर कमिटिका पुर्वउपाध्यक्ष सप्तमणी राई र जसपाका जिल्ला सचिव सुनिल चाम्लिङ पक्राउ परेका थिए । उनीहरु केही घण्टामै रिहा भएका थिए ।

यायोक्खाले चैत २० गते प्रेस विज्ञाप्तिमार्फत कोशी प्रदेशको नाममा मतदान गर्ने सांसद एवं मन्त्रीलाई जिल्लामा हुने कुनै पनि कार्यक्रममा अतिथिका रुपमा नल्याउन आग्रह गरेको थियो । प्रदेशको किरात नामाकरणको विषयमा असहमती राख्दै यायोक्खा, जनता समाजवादी, जनजाती महासंघ लगायतका पहिचान पक्षधर पार्टी तथा संगठनले बिरोधका कार्यक्रम गर्दैआएको छ ।

Facebook Comments

सम्बन्धित समाचार