काठमाडौं – चितवनबाट काठमाडौंतर्फ जाँदैै गरेको भारतीय ग्यास बुलेट धादिङमा दुर्घटनामा भएको छ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–७, कृष्णभीरमा आइतबार बिहान दुर्घटना भएको हो ।
बुलेटको अगाडीको भाग सडकबाट करिब एक सय ५० मिटर तल भीरमा अड्किएको छ भने बुलेट त्रिशुली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । बुलेटबाट घाइते भएका कोही पनि भेटिएको छैन । चालक र सहचालकको खोजी भइरहेको छ ।
साथै उक्त क्षेत्र नजिकका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ । ग्यास चुहावट भएको देखिएमा तुरुन्त प्रहरीको १०० नम्बरमा जानकारी गराइदिन पनि अनुरोध गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक सुरज श्रेष्ठले जानकारी दिए।