काठमाडौं – नेपाली कांग्रेसले गृहमन्त्री सुधन गुरूङमाथि लागेका आरोपहरूको निष्पक्ष छानबिन गर्न माग गरेको छ ।
कांग्रेसका प्रवक्ता देवराज चालिसेले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै गृहमन्त्री गुरूङमाथि लागेका आरोपहरूको छानबिन गर्न माग गरेका हुन् ।छानबिनका क्रममा कुनै ढाकछोप गरिए जनविश्वासमाथि गम्भीर आघात पुग्ने बताएको छ ।
‘गृहमन्त्रीसँग सम्बन्धित सम्पूर्ण आरोपहरूको स्वतन्त्र, निष्पक्ष र उच्चस्तरीय छानबिन प्रक्रिया तुरुन्त प्रारम्भ गरियोस् । यस विषयलाई ढिलासुस्ती, प्रभाव वा ढाकछोपतर्फ लैजाने कुनै पनि प्रयासले सुशासन, नैतिकता र जनविश्वासमाथि गम्भीर आघात पुर्याउने छ,’ प्रवक्ता देवराज चालिसेद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
कांग्रेस केन्द्रीय कार्यसमितिको अघिल्लो बैठकले यसअघि पनिमन्त्रीहरूको सम्पत्तिको स्रोत सम्बन्धमा सार्वजनिक रूपमा उठेका प्रश्नहरूलाई गम्भीरतापूर्वक लिनुपर्ने निर्णय गरेको थियो ।
गृहमन्त्री गुरुङ शुद्धीकरणसम्बन्धी अपराधको अभियोगमा हाल ललितपुरको सानेपास्थित प्रहरी हिरासतमा रहेका चर्चित बिचौलिया तथा विवादास्पद व्यापारी दीपक भट्ट समूहले सेटिङमा हात पारेको एक लघु बिमा कम्पनीको पनि शेयर होल्डर रहेको तथ्य भेटिएपछि विवादमा मुछिएका छन् ।
सुजन आचार्य संस्थापक अध्यक्ष रहेको यो कम्पनीमा चार जना सञ्चालक छन् । हाल अध्यक्ष रहेकी प्रजुनी बज्राचार्य भट्टकै स्वामित्व रहेको इन्फिनिटी होल्डिङकी कर्मचारी हुन् । उनीसमेत सञ्चालक रहेको कम्पनीमा ५७ जना संस्थापक शेयर धनी छन्। भट्टसँग विवादास्पद कारोबारमा मुछिएको शंकर समूहको स्वामित्व रहेको जगदम्बा इन्टरप्राइजेजको उक्त कम्पनीमा २५ लाख रुपैयाँ बराबरको सेयर देखिन्छ । त्यति बराबरको रकम अर्थात् २५ लाख रुपैयाँको सेयर हालका गृहमन्त्री सुधन गुरुङको समेत रहेको तथ्य बाहिरिएको हो । उनले यो कुरा अघिल्लो हप्ताको सम्पत्ति विवरणमा भने उल्लेख गरेका छैनन् ।
यसअघि जेनजी मुभमेन्ट नेपालले गृहमन्त्री गुरुङलाई पदबाट बर्खास्त गरेर पक्राउ गर्न माग गरिसकेको छ ।
आफूमाथि पार्टीको सम्भावित ‘एक्सन’ लाई लिएर गृहमन्त्री गुरुङ रास्वपा सभापति रवि लामिछानेलाई भेट्न उनकै निवास बुढानीलकण्ठ गएका थिए ।
झन्डै २ घण्टा बुढानीलकण्ठमा बसेका गृहमन्त्री गुरुङलाई सभापति लामिछानेले लामिछानेले सोमबार पनि पार्टीको बैठक बस्ने र आफ्नो कुरा बैठकमै राख्न सकिने जवाफ दिएको स्रोतको भनाइ छ ।