काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आजै सार्वजनिक गर्ने तयारी गरेको छ ।
अहिले साँझ ५ बजे बोर्ड सदस्यहरूलाई डेमो देखाउने र त्यसको डेढ दुई घण्टापछि नतिजा सार्वजनिक गर्ने गरी तयारी भइरहेको परीक्षा बोर्डका सदस्यसचिव जंगबहादुर अर्यालले जानकारी दिए ।
नतिजा प्रकाशनको तयारी बुझ्न बैठक बस्न लागेको र बोर्ड बैठकले नै नतिजा प्रकाशन कहिले गर्ने निर्णय लिने उनले बताए।
परीक्षा बोर्ड स्रोतका अनुसार प्राविधिक रूपमा कुनै त्रुटि नभेटिए साँझ नै नतिजा प्रकाशित गर्ने तयारी रहेको छ ।
उनले भने- ‘अहिले प्राविधिक काम भइरहेको छ । साँझ ५ बजेपछिलाई बोर्ड बैठक बैठक बोलाइएको छ । सम्भवतस् आज साझ सार्वजनिक हुन्छ । ‘
यस वर्ष गत चैत १९ गतेदेखि देशभरका एक हजार ९६६ परीक्षा केन्द्रबाट परीक्षा सुरु भएको थियो। पाँच लाख १२ हजार चार सय २१ जना विद्यार्थीले र जापानको एक परीक्षा केन्द्रबाट २३ जना परीक्षामा सहभागी हुन आवेदन दिएका थिए।
चैत २९ गते सम्पन्न एसइई परीक्षाको नतिजा एक महिनाभित्र सार्वजनिक गर्न सरकारले बोर्डलाई निर्देशन दिएपछि बोर्डले वैशाख २९ गतेभित्र नतिजा सार्वजनिक गर्ने गरी तयारी गरेको थियो।
विगतमा परीक्षा सम्पन्न भएको करिब तीन महिनामा नतिजा सार्वजनिक हुने गरेको भए पनि यस वर्ष शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले परीक्षा सुरु हुनुभन्दा पहिले नै बोर्डलाई एक महिनाभित्र नतिजा सार्वजनिक गर्न निर्देशन दिएका थिए। यस वर्ष परीक्षा भएकै केन्द्रमा परीक्षा सकिएको तीन दिनभित्र परीक्षाको उत्तरपुस्तिका परीक्षण गरिएको थियो।
परीक्षा नियन्त्रण कार्यालयका अनुसार एसईईको नतिजा एसएमएस गरेर, आईभीआर वा सिधै वेबसाइटमा गएर हेर्न सकिनेछ ।
एसएमएसमार्फत कसरी हेर्ने ?
एसएमएस र आईभीआरमार्फत नतिजा नेपाल टेलिकम, जानकी टेक्नोलोजी प्रालि र एम्बिसन गुरुबाट हेर्न सकिन्छ । नेपाल टेलिकमार्फत हेर्नका लागि एसएमएस र आईभीर दुवैका लागि १६०० कोड प्रयोग गर्न सकिन्छ ।
एम्बिसन गुरुमार्फत ३१०६१ मा र जानकी टेक्नोलोजिमाफर्त हेर्नका लागि ३५००१ मा एसएमएस गर्न सकिने कार्यालयले जनाएको छ ।
कुन–कुन बेवसाइटमार्फत हेर्ने ?
इन्टरनेटको माध्यमबाट विस्तृत नतिजा र मार्कसिट हेर्नका लागि कार्यालयले सरकारी तथा निजीक्षेत्रका गरी १४ वटा वेबसाइटलाई अनुमति दिएको छ ।