काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग-२ मा नेपालले स्कटल्यान्डसँग बदला लिएको छ।
सोमबार सम्पन्न खेलमा नेपालले स्कटल्यान्डलाई ६ विकेटले पराजित गर्दै बदला लिएको हो।
यसअघि वर्षाले प्रभावित पहिलो खेलमा स्कटल्यान्डसँग नेपाल डीएलएसमार्फत २ रनले पराजित भएको थियो।
स्कटल्यान्डले दिएको १९५ रनको लक्ष्य पछ्याएको नेपालले ३८.१ ओभरमा ४ विकेट गुमाउँदै १९९ रन बनाएको हो। नेपालका कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ७४ रन बनाए। अविजित रहेका उनले ९८ बलमा ५ चौका र २ छक्का प्रहार गरे। तेस्रो नम्बरमा आएका इशानले उनीसँग तेस्रो विकेटका लागि १०४ रनको साझेदारी गरेका थिए।
६१ बल खेलेका इशानले ५ चौका र २ छक्कासहित ५५ रन बनाए। ओपनर आसिफ शेख २९, कुशल भुर्तेल २८, उपकप्तान दीपेन्द्रसिंह ऐरी २ रनमा आउट हुँदा आरिफ शेख ८ रनमा अविजित रहे।
स्कटल्यान्डका मार्क वाटले सर्वाधिक २ विकेट लिए। यस्तै, ब्रान्डन म्याकमुलेनले १ विकेट राखे।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा उत्रिएको स्कटल्यान्डले ३९.१ ओभरमा सबै विकेट गुमाउँदै १९४ रन बनाएको थियो।
स्कटल्यान्डका म्याकमुलेनले सर्वाधिक ७३ रन बनाए। उनले ४४ बलमा ६ चौका र ६ छक्का प्रहार गरे। मिचेल इङ्लिसले ७२ बलमा ४ चौका र १ छक्कासहित ५१ रन बनाए। जर्ज मुन्से २१ र मार्क वार्ट २० रनमा आउट भए। अन्यको ब्याट भने चल्न सकेन।
नेपालका ललितनारायण राजवंशीले सर्वाधिक ४ विकेट लिए। ८ ओभर बलिङ गरेका उनले ३२ रन खर्चिए। सन्दीप लामिछानेले ३ विकेट लिँदा सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र नन्दन यादवले समान १ विकेट राखे।
जितसँगै पाँचौं स्थानमा उक्लिएको नेपालले २७ खेलबाट २२ अंक पुर्याएको छ। शीर्ष स्थानको स्कटल्यान्डको भने ३० खेलबाट ३८ अंक छ। अमेरिका २६ खेलबाट ३६ अंक जोडेर दोस्रो स्थानमा छ । ओमन २८ खेलबाट ३१ अंक जोड्दै तेस्रो र २४ खेलबाट २८ अंक जोड्दै नेदरल्याण्ड्स चौथो स्थानमा छ ।
नेपाल, अमेरिका र स्कटल्याण्डबीचको जारी शृङ्खलामा हालसम्म तिन खेल सकिएका छन् । दुई खेलमा स्कटल्याण्ड विजयी भएको छ भने एकमा नेपाल विजयी भएको छ ।
पहिलो खेलमा स्कटल्याण्डले नेपाललाई डकवर्थ लिइस नियमका आधारमा दुई रनले पराजित गरेको थियो भने अर्को खेलमा पनि स्कटल्याण्डले अमेरिकालाई सोही नियमका आधारमा दुई रनले नै पराजित गरेको थियो । पहिलो खेलमा हार व्यहोरेको नेपाले आज बदला लिँदै स्कटल्याण्डलाई ६ विकेटले हराएको हो । अब नेपालले सिरिजको अन्तिम खेल शुक्रबार अमेरिकासँग खेल्नेछ ।