AarthikBikash
शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • भेपभित्र लुकाइएको सुन तस्करी प्रकरण : भन्सारका नासु खड्कालाई थुनामा पठाउन आदेश

भेपभित्र लुकाइएको सुन तस्करी प्रकरण : भन्सारका नासु खड्कालाई थुनामा पठाउन आदेश

  • शुक्रबार, जेष्ठ २२, २०८३
भेपभित्र लुकाइएको सुन तस्करी प्रकरण : भन्सारका नासु खड्कालाई थुनामा पठाउन आदेश

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका नायब सुब्बा (नासु) रेवन्त खड्कालाई विशेष अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।

भेप (विद्युतीय चुरोट) भित्र लुकाएर ल्याइएको सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोपमा उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको थियो।

विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू हेमन्त रावल र विदुर कोइराला को इजलासले प्रारम्भिक प्रमाणका आधारमा खड्कालाई थुनामा राखेर मुद्दाको थप सुनुवाइ अघि बढाउन आदेश दिएको हो।

अनुसन्धानका अनुसार व्यवसायिक प्रयोजनका लागि ल्याइएका भेपहरू शंकास्पद देखिएपछि बरामद गरी गोदाममा राखिएको थियो।

गोदाममा राखिएको उक्त सामानको जिम्मेवारी पाएका खड्काले भेपभित्र सुन रहेको जानकारी पाएपछि सुन भएको भेप निकालेर त्यसको सट्टा अन्य भेप राखेको आरोप छ।

उनले निकालिएको सुन काठमाडौंको न्यूरोड क्षेत्रमा बिक्री गरेको अनुसन्धानबाट खुलेको दाबी गरिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खड्कासहित पूर्वसभामुख कृष्णबहादुर महरा र उनका छोरा राहुल महरा लगायतविरुद्ध सुन तस्करीमा सहयोग गरी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको छ।

अदालतले खड्काको जिम्मामा रहेको सामानबाट सुन निकालिएको, गोदाममा रहेको सामग्री साटिएको, अन्य आरोपितहरूले उनलाई रकम दिएको भनी बयान गरेको तथा उनको बैंक खातामा शंकास्पद रकम जम्मा भएको देखिएको उल्लेख गर्दै थुनामा राख्नुपर्ने पर्याप्त आधार रहेको निष्कर्ष निकालेको छ।

सम्बन्धित समाचार