काठमाडौं – भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र भारतका विदेशमन्त्री एस. जयशंकरबीच नयाँ दिल्लीमा भएको उच्चस्तरीय भेटवार्तापछि नेपाल–भारत सहकार्यलाई थप विस्तार गर्ने उद्देश्यसहित तीन बुँदे संयुक्त घोषणा जारी गरिएको छ ।
शनिबार साँझ सम्पन्न द्विपक्षीय वार्तामा व्यापार तथा आर्थिक सहयोग, सीमापार सम्पर्क सञ्जाल, ऊर्जा साझेदारी, जलस्रोत व्यवस्थापन तथा खेलकुदमार्फत दुई देशका नागरिकबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा व्यापक छलफल भएको थियो। वार्तापछि दुवै पक्षले सहकार्यका नयाँ आयाम समेटिएको तीन बुँदे घोषणा सार्वजनिक गरेका हुन्।
घोषणाको पहिलो बुँदाअनुसार, भारत सरकारले नेपालमा निर्माण सम्पन्न गरेका स्वास्थ्य संस्था र सांस्कृतिक सम्पदा परियोजनाहरू औपचारिक रूपमा हस्तान्तरण गरेको छ।
२०७२ सालको विनाशकारी भूकम्पपछि सञ्चालन गरिएको पुनर्निर्माण कार्यक्रमअन्तर्गत भारतले नेपालका विभिन्न क्षेत्रमा ७२ वटा स्वास्थ्य संस्था तथा १२ वटा सांस्कृतिक सम्पदा पुनर्निर्माण परियोजना निर्माण गरेको थियो। ती परियोजनाहरू नयाँ दिल्लीबाट भर्चुअल माध्यममार्फत नेपाललाई हस्तान्तरण गरिएको हो।
घोषणाको दोस्रो बुँदामा नेपाल र भारतबीच सीमापार व्यक्तिगत विप्रेषण तथा डिजिटल भुक्तानी प्रणालीलाई सहज बनाउने सहमति भएको छ।
यसअन्तर्गत भारतको यूनिफाइड पेमेन्ट्स इन्टरफेस र नेपालको नेसनल पेमेन्ट्स इन्टरफेस ९ल्एक्ष्० बीचको अन्तरआबद्धता संयुक्त रूपमा सुरु गरिएको छ।
यसले दुवै देशका नागरिकलाई सीमापार रकम स्थानान्तरण तथा डिजिटल कारोबारमा थप सुविधा प्रदान गर्ने अपेक्षा गरिएको छ।
तेस्रो बुँदाअनुसार भारतको ‘डिजिटल इन्डिया भाषिनी’ कार्यक्रम र काठमाडौँ विश्वविद्यालयबीच समझदारीपत्र आदानप्रदान गरिएको छ।
समझदारीपत्रमार्फत नेपालका लागि ‘भ्वाइस–फर्स्ट’ भाषा अनुवाद प्लेटफर्मको राष्ट्रिय डिजिटल पूर्वाधार सहनिर्माण गर्ने लक्ष्य राखिएको छ। उक्त समझदारीपत्र आदानप्रदान कार्यक्रममा दुवै देशका विदेशमन्त्री साक्षी बनेका थिए।
भारत सरकारले मन्त्री खनालसँग भएको ‘फलदायी बैठक’ को निरन्तरताका रूपमा तीन बुँदे घोषणा जारी गरिएको जनाएको छ। विश्लेषकहरूले यसलाई नेपाल–भारत सम्बन्धमा डिजिटल प्रविधि, आर्थिक एकीकरण र पुनर्निर्माण सहकार्यलाई थप संस्थागत बनाउने महत्वपूर्ण कदमका रूपमा हेरेका छन्।
परराष्ट्रमन्त्री खनालले भ्रमणका क्रममा भारतका विभिन्न उच्च सरकारी अधिकारीसँग पनि भेटवार्ता गरेका छन्। उनी आज गते स्वदेश फर्कने कार्यक्रम रहेको छ।