काठमाडौं – सरकारले मन्त्रालयको संख्या २२ बाट घटाएर १८ मा झारेपछि प्रशासनिक संरचनामा व्यापक हेरफेर गर्दै ६ जना सचिवलाई अतिरिक्त समूहमा राखेको छ ।
मन्त्रिपरिषद्को निर्णयअनुसार विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत सचिवहरूको जिम्मेवारी परिवर्तन, सरुवा तथा पदस्थापन गरिएको हो ।
अतिरिक्त समूहमा राखिएका सचिवहरूमा लोकनाथ पौडेल, कृष्णहरि पुष्कर, हरिप्रसाद मैनाली, डा. गोविन्दप्रसाद शर्मा, डिल्लीराम शर्मा र डण्डुराज घिमिरे रहेका छन्। यसअघि उनीहरू विभिन्न मन्त्रालय तथा संवैधानिक निकायमा कार्यरत थिए।
लोकनाथ पौडेल साविकको युवा तथा खेलकुद मन्त्रालयमा, कृष्णहरि पुष्कर उपराष्ट्रपति कार्यालयमा, हरिप्रसाद मैनाली सार्वजनिक खरिद अनुगमन कार्यालयमा, डा. गोविन्दप्रसाद शर्मा वन तथा वातावरण मन्त्रालयमा तथा डिल्लीराम शर्मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा कार्यरत थिए। अतिरिक्तमा राखिएका सचिव डण्डुराज घिमिरे भने हाल निलम्बनमा रहेका छन्।
सरकारले अतिरिक्त समूहमा रहेका सचिवमध्ये डा. गोविन्दप्रसाद शर्मालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल समन्वयको विशेष जिम्मेवारी दिएको छ।
यस्तै, अर्को एक सचिवलाई सूचना प्रविधि (आईटी) क्षेत्रको समन्वय गर्ने जिम्मेवारी दिने तयारी भइरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।
मन्त्रालय संख्या घटाइएपछि सचिवहरूको दरबन्दी पनि पुनःसंरचना गरिएको छ। यसअघि अर्थ, ऊर्जा, जलस्रोत तथा सिँचाइ, उद्योग वाणिज्य तथा आपूर्ति, कृषि तथा पशुपन्छी विकास, स्वास्थ्य तथा जनसंख्या तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा दुई(दुई सचिव रहने व्यवस्था थियो। अब ती मन्त्रालयमा एक मात्र सचिव रहने गरी दरबन्दी समायोजन गरिएको छ।
यससँगै सरकारले २३ जना सचिवको पदस्थापन र जिम्मेवारी हेरफेर गरेको छ। विभिन्न निकायमा नयाँ जिम्मेवारी पाउने सचिवहरूमा भुपाल बराल (गण्डकी प्रदेश), चन्द्रकला पौडेल (उपराष्ट्रपति कार्यालय), प्रमिलादेवी बज्राचार्य (विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय), दिनानाथ मिश्र (राष्ट्रिय सतर्कता केन्द्र), चीरञ्जिवी चटौत (नेपाल ट्रष्ट) र सरजुकुमार वैद्य (जल तथा ऊर्जा आयोगको सचिवालय) रहेका छन्।