AarthikBikash
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • राजनीति
  • परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा

परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा

  • आइतवार, जेष्ठ ३१, २०८३
परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल चीनको चार दिवसीय भ्रमणका लागि बेइजिङ पुगेका छन् ।

चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा उनी गएराति त्यसतर्फ प्रस्थान गरेका थिए ।

बेइजिङस्थित नेपाली दूतावासका अनुसार उनी स्थानीय समय अनुसार आज अपराह्न त्यहाँ पुगेका हुन्।

बेइजिङस्थित विमानस्थलमा उनलाई चीनका लागि नेपालका कार्यवाहक राजदूत श्रीमती रोशन खनाल तथा चीनको विदेश मन्त्रालयका अधिकारीहरूले स्वागत गरेका थिए ।

परराष्ट्र मन्त्री खनालको सम्मानमा नेपाली दूतावासले आजै साँझ एक स्वागत समारोह आयोजना गर्दैछ । समारोहमा उनले नेपाली समुदायसँग अन्तरक्रिया समेत गर्ने दूतावासले जनाएको छ ।

चीनमा रहँदा परराष्ट्रमन्त्रीले आफ्ना समकक्षी वाङसँग नेपाल-चीन सम्बन्ध अझ सुदृढ बनाउने तथा आपसी सहकार्यलाई अझ सबल बनाउने सम्बन्धमा द्विपक्षीय वार्ता गर्ने छन् । साथै उनले चीनका उच्च अधिकारीहरूसँग पनि बेग्लाबेग्लै भेटवार्ता गर्ने तालिका छ ।

नेपाली दूतावासद्वारा आयोजना हुने लगानी सम्मेलनमा मन्त्री खनाल सहभागी हुनाका साथै चिनियाँ उद्यमी व्यवसायीसँग पनि छलफल गर्ने कार्यक्रम छ ।

परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री खनाल असार ३ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

परराष्ट्रमन्त्री खनाल यही जेठ २२ गते मात्रै भारत भ्रमणमा गएर २४ गते काठमाडौं फर्किएका थिए । भारत बसाइको क्रममा उनले समकक्षी एस जयशंकर, सत्तारुढ भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवाले लगायतसँग भेटवार्ता गरेका थिए ।

खासगरी नेपाली भूमि लिपुलेक क्षेत्रबाट भारत र चीनले व्यापारिक मार्ग खोलेको विषयमा खनालले स्पष्ट रुपमा आफ्ना अडान दोहोर्‍याएका थिए ।

चीन भ्रमणको क्रममा उक्त विषयले त्यहाँ पनि प्रवेश पाउनसक्ने भएकाले यो भ्रमणलाई विशेष चासोका साथ हेरिएको छ ।

सम्बन्धित समाचार