काठमाडौँ – ज्येष्ठ शुक्ल पक्षको एकादशीलाई निर्जला एकादशी भनिन्छ । श्रीहरिको प्रिय तिथि एकादशीमा भगवान् नारायणको पूजा गरिन्छ । आजको दिन गङ्गा तथा अन्य पवित्र नदीमा स्नान गरी पानीसमेत त्याग गरी व्रत बस्ने विधान रहेको छ ।
आज पूर्ण रूपले उपबास बसी जल वा सर्बतले भरिएको घडा दान गर्नाले दान गर्ने व्यक्तिलाई श्रीहरिको कृपा रहने कुरा शास्त्रमा वर्णन गरिएको छ ।
आज पवित्र स्थानमा तुलसीको दल राखेर हरिशयनी एकादशीको दिन तुलसीको मठमा रोपेर हरिबोधिनी एकादशीको दिन भगवान् विष्णु भगवानसँग विवाह गर्ने प्रचलन रहेको छ । अन्य एकादशीमा व्रत गर्न असमर्थहरूका लागि पनि आजको दिन व्रत गर्नाले शुभ फल प्राप्त हुनेछ ।
जुन भक्तले शम, दम र दानमा प्रवृत्त भई श्रीहरिको पूजा र रात्रिको समयमा जागरण गर्दै यस ‘निर्जला एकादशी’को व्रत गरेको छ, उसले आफूसँगै बितेका सय पुस्ताका र आगामी सय पुस्ताका व्यक्तिहरूलाई भगवान् वासुदेवको परमधाममा पुर्याउँछ । निर्जला एकादशीका दिन अन्न, वस्त्र, गौ, जल, शय्या, सुन्दर आसन, कमण्डलु तथा छाता दान गर्नुपर्दछ ।
व्यास भन्छन्-‘हे भीमसेन ! ज्येष्ठ मासमा शुक्ल पक्षको जुन शुभ एकादशी हुन्छ, त्यसको निर्जल व्रत गर्नुपर्दछ । त्यस दिन शख्खरसित जलको घडा दान गर्नुपर्दछ । यसो गर्नाले मनुष्यले भगवान् विष्णुका समीपमा पुगेर आनन्दको अनुभव गर्दछ । तत्पश्चात् द्वादशीमा दिन दुःखीलाई भोजन गराए पछि स्वयं आफूले पनि भोजन गर्नुपर्छ । जसले यसरी पूर्ण रूपले यस पापनाशिनी एकादशीको व्रत गर्छ, ऊ सबै पापबाट मुक्त भई आनंदमय पद प्राप्त गर्न सफल हुन्छ ।’ यो सुनेर भीमसेनले पनि यस शुभ एकादशीको व्रत आरम्भ गरे ।