AarthikBikash
सोमवार, अशोज १२, २०८३
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • दुई दिन भारी वर्षाको सम्भावना, २३ जिल्लामा बाढीको जोखिम

दुई दिन भारी वर्षाको सम्भावना, २३ जिल्लामा बाढीको जोखिम

  • शनिबार, साउन २, २०८३
दुई दिन भारी वर्षाको सम्भावना, २३ जिल्लामा बाढीको जोखिम

काठमाडौं – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार र आइतबार देशका विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

प्राधिकरणका अनुसार कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका केही स्थानमा अति भारी वर्षा हुन सक्ने अनुमान छ। वर्षासँगै २३ भन्दा बढी जिल्लामा बाढी, पहिरो, डुबान र गेग्रान बहावको जोखिम बढ्ने भएकाले आवश्यक सावधानी अपनाउन अनुरोध गरिएको छ।

उच्च जोखिममा पाँचथर, इलाम, झापा, संखुवासभा, तेह्रथुम, भोजपुर, खोटाङ, धनकुटा, सिन्धुली, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, चितवन, धादिङ, गोरखा, लमजुङ, कास्की, तनहुँ, पर्वत, बाग्लुङ, म्याग्दी र स्याङ्जा रहेका छन्।

प्राधिकरणले ती जिल्लामा विशेषगरी रातिको समयमा अनावश्यक यात्रा नगर्न र आवश्यक परे सवारी आवागमन रोक्न सकिने जनाएको छ।

जल तथा मौसम विज्ञान विभागले पनि हिमाली तथा पहाडी क्षेत्रका साथै कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिमका तराईका केही स्थान तथा मधेश, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको जनाएको छ।

भारी वर्षाका कारण आकस्मिक बाढी, पहिरो, नदी कटान, सहरी डुबान र सडक अवरुद्ध हुने जोखिम रहेकाले स्थानीय बासिन्दा तथा यात्रुलाई सतर्क रहन प्राधिकरणले आग्रह गरेको छ।

मौसम पूर्वानुमान महाशाखाले पनि विशेष बुलेटिन जारी गर्दै आगामी दुई दिन उच्च सावधानी अपनाउन अनुरोध गरेको छ।

सम्बन्धित समाचार