सुनसरी – सुनसरीको देवानगन्ज गाउँपालिका र हरिनगर गाउँपालिकामा दुई समूहबीच भएको हिंसात्मक झडपपछि स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ ।
स्थिति थप तनावग्रस्त बनेपछि जिल्ला प्रशासन कार्यालयले सोमबार बिहानदेखि दुवै गाउँपालिकामा कडा सुरक्षा व्यवस्था लागू गरेको हो ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेका अनुसार स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम सोमबार बिहान ७ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि देवानगन्ज र हरिनगर गाउँपालिकाको तोकिएको चारकिल्लाभित्र अनिश्चितकालीन कर्फ्यु लागू गरिएको छ।
कर्फ्यु अवधिमा कसैलाई पनि आवतजावत गर्न, पाँच जनाभन्दा बढीको समूहमा भेला हुन, जुलुस, प्रदर्शन, सभा, बैठक वा घेराउ गर्न अनुमति दिइने छैन ।
प्रशासनले आदेश उल्लङ्घन गर्ने व्यक्तिलाई एक हजार रुपैयाँसम्म जरिवाना वा एक महिनासम्म कैद, अथवा दुवै सजाय हुन सक्ने चेतावनी दिएको छ ।
आइतबार राति साउने सोमबारका अवसरमा बोलबम यात्रामा सहभागी हिन्दु धर्मावलम्बीमाथि अर्को समूहले आक्रमण गरेको आरोपपछि देवानगन्ज–३, कप्तानगन्ज क्षेत्रमा तनाव चुलिएको थियो।
सामान्य विवादबाट सुरु भएको घटना केही समयमै दुई समूहबीचको उग्र झडपमा परिणत हुँदा स्थानीयका घर, पसल तथा सवारीसाधनमा तोडफोड र आगजनी भएको थियो।
स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाउँदा देवानगन्ज–३ का २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको छ। घटनामा दर्जनभन्दा बढी व्यक्ति घाइते भएका छन्। घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने केहीको अवस्था गम्भीर रहेको जनाइएको छ।
घटनापछि सम्भावित थप हिंसा रोक्न सुनसरी र मोरङबाट अतिरिक्त नेपाल प्रहरी तथा सशस्त्र प्रहरी परिचालन गरिएको छ। घटनास्थल र आसपासका क्षेत्रमा सुरक्षा व्यवस्था अत्यन्त कडा पारिएको छ।
प्रशासनले सर्वसाधारणलाई अफवाहमा विश्वास नगर्न, सुरक्षा निकायसँग सहयोग गर्न तथा कर्फ्यु आदेशको पूर्ण पालना गर्न आग्रह गरेको छ।