काठमाडौं – सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा ज्यान गुमाएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताका परिवार तथा गृह मन्त्रालयबीच गएराति ७ बुँदे सहमति भएको छ।
गृह मन्त्रालयका अनुसार सहमतिअनुसार सरकारले दुवै मृतकलाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउने तथा प्रत्येक परिवारलाई १०र१० लाख रुपैयाँ राहत उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।
गृहमन्त्रीद्वारा हस्ताक्षर गरिएको सहमति पत्रमा घटनाको निष्पक्ष, पारदर्शी र प्रभावकारी छानबिन गरी दोषीमाथि कानुनबमोजिम आवश्यक कारबाही प्रक्रिया तत्काल अगाडि बढाइने उल्लेख गरिएको छ।
यस्तै, प्रत्येक मृतकका परिवारबाट एक जना योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराइने सहमति भएको छ। साथै, घटनाबारे गठित छानबिन समितिले पेश गर्ने प्रतिवेदनमा समेटिएका सुझाव तथा सिफारिसहरूलाई कानुनअनुसार यथाशीघ्र कार्यान्वयन गर्ने प्रतिबद्धता पनि सरकारले जनाएको छ।
सहमतिअनुसार मृतकहरूको सम्झनामा स्थानीय सरकारसँग समन्वय गरी देवानगञ्ज गाउँपालिकाको उपयुक्त स्थानमा स्मृति पार्क निर्माण गरिनेछ।