AarthikBikash
शुक्रबार, साउन १५, २०८३
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • पाकिस्तानको ब्रोड पिकमा हिमपहिरो, निर्मल पुर्जासहित १० आरोही सम्पर्कविहीन

पाकिस्तानको ब्रोड पिकमा हिमपहिरो, निर्मल पुर्जासहित १० आरोही सम्पर्कविहीन

  • शुक्रबार, साउन १५, २०८३
पाकिस्तानको ब्रोड पिकमा हिमपहिरो, निर्मल पुर्जासहित १० आरोही सम्पर्कविहीन

एजेन्सी – पाकिस्तानको कराकोरम पर्वतशृंखलामा अवस्थित विश्वको १२औँ अग्लो हिमाल ब्रोड पिकमा गएको भीषण हिमपहिरोपछि विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्सदाइ) सहित १० सदस्यीय अन्तर्राष्ट्रिय आरोहण टोली सम्पर्कविहीन भएको छ।

बीबीसीका अनुसार बिहीबार मध्याह्न हिमपहिरो गएपछि टोलीसँग सम्पर्क पूर्ण रूपमा विच्छेद भएको हो । पाकिस्तानी पर्वतारोहण अधिकारीहरूले टोलीको अवस्थाबारे कुनै आधिकारिक जानकारी प्राप्त हुन नसकेको बताएका छन् ।

सम्पर्कविहीन टोलीमा पाँच नेपाली, एक अमेरिकी, एक चिनियाँ, एक ओमानी लगायत विभिन्न देशका पर्वतारोही सहभागी रहेको जनाइएको छ। मौसम प्रतिकूल रहेकाले उद्धार अभियानमा कठिनाइ उत्पन्न भएको भए पनि मौसम अनुकूल हुनेबित्तिकै हेलिकोप्टरमार्फत व्यापक खोज तथा उद्धार अभियान सञ्चालन गरिने तयारी गरिएको छ।

अल्पाइन क्लब अफ पाकिस्तानले विज्ञप्ति जारी गर्दै सरकारी निकायसँग निरन्तर समन्वय भइरहेको र हेलिकोप्टर परिचालनसहित उपलब्ध सबै साधनस्रोत तत्काल परिचालन गरिएको जनाएको छ।

निर्मल पुर्जा विश्व पर्वतारोहण क्षेत्रमा अत्यन्त चर्चित नाम हुन्। उनले सन् २०१९ मा केवल ६ महिना ६ दिनमै ८,००० मिटरभन्दा अग्ला विश्वका सबै १४ हिमाल आरोहण गरेर नयाँ विश्व कीर्तिमान कायम गरेका थिए ।

सम्बन्धित समाचार