जनकपुरधाम – सुनसरी र सिरहामा भएका घटनाका दोषीलाई तत्काल पक्राउ गरी कानुनी दायरामा ल्याउन माग गर्दै जनकपुरधाममा प्रदर्शन गरिएको छ।
शनिबार जनकपुरधाममा आयोजित सद्भाव र्याली सम्पन्न भएपछि स्वतःस्फूर्त रूपमा भेला भएका युवाहरूले विरोध प्रदर्शन गर्दै दोषीमाथि कडा कानुनी कारबाहीको माग गरेका हुन्।
प्रदर्शनकारीहरूले सुनसरी र सिरहाका घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै संलग्न व्यक्तिलाई तत्काल पक्राउ गरी कानुनबमोजिम कडा कारबाही गर्नुपर्ने माग गर्दै नाराबाजी गरेका थिए।
उनीहरूले समाजमा शान्ति, सुरक्षा र साम्प्रदायिक सद्भाव कायम राख्न राज्य संयन्त्र थप संवेदनशील र जिम्मेवार बन्नुपर्नेमा जोड दिए। साथै, पीडितलाई न्याय सुनिश्चित गर्दै दोषीलाई कुनै पनि बहानामा उन्मुक्ति नदिन स्थानीय प्रशासनसँग आग्रह गरेका छन्।
प्रदर्शनमा सहभागीहरूले विधिको शासनको प्रभावकारी कार्यान्वयनबाट मात्रै शान्तिपूर्ण समाज निर्माण सम्भव हुने उल्लेख गर्दै घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनबमोजिम कारबाही गर्न माग गरेका छन्।
गएको आइतबार सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडपपछि सशस्त्र प्रहरीको गोली लागेर ओमप्रकाश मेहताको घटनास्थलमै मृत्यु भएको थियो भने सुरक्षाकर्मीसहित २२ जना घाइते भएका थिए। घाइतेमध्ये जयप्रकाश मेहताको उपचारका क्रममा मृत्यु भएपछि सुनसरीका विभिन्न स्थानमा तोडफोड तथा आगजनीका घटना भएका थिए ।
देवानगञ्ज घटनाको विरोधमा मधेश प्रदेशका विभिन्न जिल्लामा पनि आन्दोलन र प्रदर्शन भएका थिए। यसक्रममा सिरहाको लहानमा प्रदर्शनका क्रममा गोली लागेर गणेश यादवको मृत्यु भएको थियो ।
त्यसपछि सुरक्षा अवस्थालाई मध्यनजर गर्दै मधेसप्रदेश भर कर्फ्यु र निषेधाज्ञा जारी गरिएको थियो ।
पिडित परिवार र सरकारबीच सहमति भएसँगै अवस्था केही सामान्य बन्दै गइरहेको छ ।
यससँगै जनकपुरधाममा जारी कर्फ्यु हटाएर निषेधाज्ञा लागू गरिएको छ।
यसअघि सुनसरीका ९ वटा स्थानीय तहमा र सिरहाको लहानमा पनि कर्फ्यु हटाएर निषेधाज्ञा लागू गरिएको थियो ।