काठमाडौं – नेपाली कांग्रेसको संस्थापन इतर समूहले पूर्वमहामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा ५५१ सदस्यीय राष्ट्रिय भेला मूल आयोजक समिति गठन गरेको छ।
आगामी राष्ट्रिय भेला व्यवस्थित र प्रभावकारी रूपमा सम्पन्न गर्न शनिबार काठमाडौंको चुनदेवीस्थित सम्पर्क कार्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत मूल आयोजक समिति तथा विभिन्न विषयगत उपसमितिहरू घोषणा गरिएको हो।
पत्रकार सम्मेलनमा नेता मिनबहादुर विश्वकर्माले १४औँ महाधिवेशनबाट निर्वाचित तथा मनोनित केन्द्रीय पदाधिकारी र सदस्य, प्रदेश कार्यसमितिका सभापति तथा पदाधिकारी, जिल्ला सभापति, उपत्यकाभित्रका जिल्ला कार्यसमितिका पदाधिकारी तथा महानगर र नगर सभापतिलाई मूल आयोजक समितिमा समेटिएको जानकारी दिए।
उनका अनुसार संघीय तथा प्रदेश सांसद, पूर्वमन्त्री तथा भ्रातृ एवं शुभेच्छुक संस्थाका केन्द्रीय प्रमुखहरू पनि पदेन सदस्य रहनेछन्।
राष्ट्रिय भेला सफल बनाउन मूल आयोजक समितिसहित १६ वटा विषयगत समिति गठन गरिएको छ। ती समितिमा समसामयिक राजनीतिक प्रस्ताव, सांगठनिक प्रस्ताव, विधान संशोधन मस्यौदा, आर्थिक नीति, प्रचार–प्रसार, आर्थिक व्यवस्थापन, आवास तथा भोजन, मञ्च व्यवस्थापन, स्वयंसेवक परिचालन, सांस्कृतिक, सहभागी व्यवस्थापन, स्वास्थ्य, शान्ति सुरक्षा तथा प्रशासन समन्वय र सचिवालय व्यवस्थापनलगायत रहेका छन्।
विश्वकर्माले समितिहरूको नेतृत्व र सदस्यहरूको अन्तिम टुंगो आगामी केन्द्रीय कार्यसमिति बैठकले लगाउने बताए। सदस्यहरूको नामावली तयार गर्न समय लाग्ने भएकाले हाल पदका आधारमा पदेन सदस्यको व्यवस्था गरिएको उनले स्पष्ट पारे।