काठमाडौं – मन्त्रिपरिषद् बैठकले गरेका मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ ।
सरकारका प्रवक्ता समेत रहेका शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद् बैठकका ७ वटा निर्णयहरू सार्वजनिक गरेका हुन् ।
निर्णय अनुसार, तथ्याङ्क पहिलो संशोधन नियमावली २०८३ स्वीकृत गर्ने निर्णय भएको छ ।
सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदमा याङ्की उक्याबलाई नियुक्ति नियुक्त गरेको छ।
त्यस्तै, पशु बधशाला र मासु जाँच ऐन २०५५ चरणबद्ध रूपमा नेपाल राज्यभर लागू गर्ने निर्णय पनि भएको छ ।
सरकारले सुनसरी र सिरहा जिल्लामा भएका प्रदर्शनका क्रममा मृत्यु भएका व्यक्तिका परिवारलाई क्षतिपूर्ति तथा राहत उपलब्ध गराउने निर्णय गरेको छ।
बैठकले घटनामा मृत्यु भएका परिवारलाई क्षतिपूर्ति र राहत तथा घाइतेहरूको उपचारको व्यवस्था गर्ने निर्णय गरेको हो।
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू :
१. तथ्याङ्क पहिलो संशोधन नियमावली २०८३ स्वीकृत गर्ने ।
२. दोस्रो, लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदमा याङ्की उक्याब काठमाडौँलाई नियुक्ति गर्ने।
३. नेपाल इन्टरमोडल यातायात विकास समिति गठन आदेश २०५४ खारेज गर्ने र नेपाल इन्टरमोडल यातायात विकास समितिलाई नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडसँग गाभ्न स्वीकृति दिने ।
४. पशु बधशाला र मासु जाँच ऐन २०५५ चरणबद्ध रूपमा नेपाल राज्यभर लागू गर्ने ।
५. बालबालिका सम्बन्धी पहिलो संशोधन विधेयक २०८३ सङ्घीय संसद समक्ष पेस गर्न स्वीकृति प्रदान गर्ने।
६. विश्वविद्यालय अनुदान आयोगमा रिक्त रहेको अध्यक्ष पदमा प्राध्यापक डाक्टर खड्गबहादुर केसी पर्वत र सचिव पदमा प्राध्यापक डाक्टर रोजी श्रेष्ठ भोजपुरलाई नियुक्ति गर्ने ।
७. सुनसरी र सिराहा जिल्लामा भएको प्रदर्शनका क्रममा मृत्यु हुने र घाइतेहरूलाई क्षतिपूर्ति, राहत, उपचारको व्यवस्था गर्ने ।