काठमाडौं – विश्वको १२ औं अग्लो हिमाल (ब्रड पिक) हिमपहिरोमा ज्यान गुमाएका नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाइ’सहित चार जनाको शव आधार शिविरमा ल्याइएको छ।
निम्सको कम्पनी एलिट एक्स्पेडका अनुसार अत्यन्तै कठिन र जोखिमपूर्ण उद्धार अभियानपछि निम्सदाइ’सहित झोङ वाङ, निमा शेर्पा र किलु शेर्पाको शव सफलतापूर्वक उद्धार गरी आधार शिविर पुर्याइएको हो।
उद्धार अभियानको नेतृत्व मिङ्मा डेभिड शेर्पाले गरेका थिए। कम्पनीका अनुसार सिरबाज खानसहित घटनास्थलमा खटिएको उद्धार टोलीले असाधारण साहस, उच्च व्यावसायिकता र निस्वार्थ समर्पणका साथ अभियान सफलतापूर्वक सम्पन्न गरेको हो।
कम्पनीले उद्धारमा सहयोग पुर्याउने पाकिस्तान सेना, पाकिस्तान सरकार, गिलगिट–बाल्टिस्तान सरकार, स्थानीय प्रशासन, बेलायती उच्चायोग, नेपाल दूतावास, अल्पाइन क्लब अफ पाकिस्तानलगायत सबैप्रति आभार व्यक्त गरेको छ।
साथै, अझै बेपत्ता रहेका तीन आरोहीका परिवारप्रति समवेदना व्यक्त गर्दै सुरक्षित वातावरण बनेपछि उनीहरूको खोजी तथा उद्धारका लागि सम्भव सबै प्रयास जारी राख्ने प्रतिबद्धता जनाएको छ। तीन जनाको शव भने यसअघि नै ल्याइसकिएको छ ।
नेपालीसहित १० सदस्यीय टोली चीनको सीमासँग जोडिएको ८,०४७ मिटर अग्लो ब्रड पिकमा पर्वतारोहण गर्न हिडेका थिए ।
गएको बिहीबार ब्रोड पिकको शिखरतर्फ करिब ६,६०० मिटर उचाइमा उक्लिरहेका बेला उक्त टोली हिमपहिरोमा परेको थियो।
हिमपहिरोमा परेर नेपालका पुर्जा (निम्सदाइ), पुरबहादुर गुरुङ(युक्ता), किली पेम्बा शेर्पा, निमा शेर्पा, नावाङ थिन्दु शेर्पा र ग्यालु शेर्पाले ज्यान गुमाएका थिए ।
यसैगरी अमेरिकी आरोही म्यालोरी गेइस, ओमानकी नधिरा अहमद अब्दुल्लाह अल हार्थी, पाकिस्तानका सोहेल साखी र चीनका वाङ झोङ पनि ज्यान गुमाएका थिए ।
विश्वभर ‘निम्स दाइ’का नामले परिचित पुर्जाले सन् २०१९ मा ६ महिना ६ दिनमै विश्वका ८ हजार मिटरभन्दा अग्ला १४ वटै हिमाल आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका थिए।
पूर्व ब्रिटिस गोर्खा सैनिकसमेत रहेका पुर्जाले छोटो समयमै विश्वका १४ वटा ८ हजार मिटरभन्दा अग्ला हिमाल आरोहण गरी नेपाललाई अन्तर्राष्ट्रिय पर्वतारोहण क्षेत्रमा नयाँ पहिचान दिलाएका थिए। उनको साहस, नेतृत्व क्षमता र असाधारण कीर्तिमानले नेपाललाई विश्वमञ्चमा गौरवान्वित बनाएको थियो।