काठमाडौं – व्यवसायी शेखर गोल्छालाई सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा विशेष अदालतले १ करोड रुपैयाँ धरौटी माग गरेको छ।
मंगलबार थुनछेक बहसपछि विशेष अदालतको इजलासले गोल्छासँग १ करोड रुपैयाँ धरौटी माग गर्ने आदेश दिएको हो।
आफूविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दायर भएपछि गोल्छा मंगलबार विशेष अदालतमा उपस्थित भएका थिए। अदालतमा सुरुमा उनको बकपत्र गराइएको थियो। त्यसपछि न्यायाधीशहरू बासुदेव आचार्य, हेमन्त रावल र विदुर कोइरालाको इजलासले धरौटी माग गर्ने आदेश दिएको हो।
यो मुद्दामा विचौलिया दिपक भट्ट, शुलभ अग्रवालसहित ३४ जना र पाँच कम्पनीलाई प्रतिवादी बनाइएको थियो ।
गोल्छाले यसअघि पनि अन्य दुई कसुरमा १ करोड रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए।
जिल्ला अदालत काठमाडौंले साउन १२ गते बिमा क्षेत्रसँग सम्बन्धित कसुरमा ७५ लाख रुपैयाँ र धितोपत्रसम्बन्धी कसुरमा २५ लाख रुपैयाँ धरौटी माग गरेको थियो। जिल्ला अदालत काठमाडौंकी न्यायाधीश प्रतिमाकुमारी भट्टराई पोखरेलको इजलासले माग गरेको धरौटी बुझाएर गोल्छा सोही दिन रिहा भएका थिए।
विचौलिया भट्टसँग जोडिएका तथा धितोपत्र सम्बन्धी गम्भीर कसुरमा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष समेत रहेका गोल्छालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गत वैशाख १० गते नियन्त्रणमा लिएको थियो।