AarthikBikash
मङ्लबार, साउन २६, २०८३
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • पूर्वराष्ट्रपति बशर अल असदलाई युद्ध अपराधमा मृत्युदण्डको सजाय

पूर्वराष्ट्रपति बशर अल असदलाई युद्ध अपराधमा मृत्युदण्डको सजाय

  • मङ्लबार, साउन २६, २०८३
पूर्वराष्ट्रपति बशर अल असदलाई युद्ध अपराधमा मृत्युदण्डको सजाय

एजेन्सी – सिरियाको अदालतले पूर्वराष्ट्रपति बशर अल असदलाई युद्ध अपराध तथा मानवताविरुद्धका अपराधमा दोषी ठहर गर्दै मृत्युदण्डको फैसला सुनाएको छ।

डिसेम्बर २०२४ मा सत्ता गुमाएपछि असद परिवारसहित सिरियाबाट भागेर मस्को पुगेका थिए। उनको सत्ताच्युतिसँगै सिरियामा असद परिवारको पाँच दशकभन्दा लामो शासन समाप्त भएको थियो।

अदालतले असदका नातेदार तथा दक्षिणी सिरियाको दारा प्रान्तका तत्कालीन राजनीतिक सुरक्षा प्रमुख आतेफ नजीबलाई पनि मृत्युदण्ड सुनाएको छ। फैसला सुनाइँदा नजीबलाई अदालतभित्र पिँजडामा राखिएको थियो।

सन् २०११ मा सिरियामा असद शासनविरुद्धको विद्रोह सुरु भएको प्रमुख केन्द्र दारा थियो। सरकारी सुरक्षा निकायले सरकारविरोधी भित्ते लेखेको आरोपमा केही किशोरलाई पक्राउ गरी यातना दिएपछि त्यहाँ व्यापक प्रदर्शन सुरु भएको थियो।

प्रदर्शन दबाउन सुरक्षा बलले गरेको हिंसात्मक दमनपछि आन्दोलन देशभर फैलिँदै गयो। अन्ततः आन्दोलन सशस्त्र द्वन्द्वमा परिणत भएर वर्षौं लामो गृहयुद्धमा बदलियो। उक्त द्वन्द्वमा लाखौँ मानिसको ज्यान गएको थियो।

असद शासनकालका उच्च पदस्थ अधिकारीमाथि कारबाही अघि बढाउने प्रक्रिया सिरियाको अन्तरिम सरकारले यसै वर्ष तीव्र बनाएको हो। नजीब सोही अभियानअन्तर्गत कारबाहीमा परेका उच्च तहका पूर्वअधिकारीमध्ये एक हुन्।

अदालतले नजीबलाई पाँच वर्षभन्दा कम उमेरका बालबालिकासहित व्यक्तिको नियोजित हत्या, यातना तथा अन्य गम्भीर अपराधमा दोषी ठहर गरेको छ।

असद शासनकालमा भएका दमन र मानवअधिकार उल्लंघनमा संलग्न अधिकारीलाई कानुनी दायरामा ल्याउने अन्तरिम सरकारको अभियानबीच यो फैसला आएको हो।

सम्बन्धित समाचार