AarthikBikash
बिहिबार, साउन २८, २०८३
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • रोल्पा पहिरोमा मृत्यु हुनेको संख्या ७ पुग्यो, ५ जना अझै बेपत्ता

रोल्पा पहिरोमा मृत्यु हुनेको संख्या ७ पुग्यो, ५ जना अझै बेपत्ता

  • बिहिबार, साउन २८, २०८३
रोल्पा पहिरोमा मृत्यु हुनेको संख्या ७ पुग्यो, ५ जना अझै बेपत्ता

रोल्पा – लगातारको वर्षासँगै आएको पहिरोले रोल्पाको थवाङ गाउँपालिका–५ कोटलबारामा ठूलो क्षति पुर्‍याएको छ।

साउन २७ गते बेलुका गएको पहिरोमा परी ७ जनाको मृत्यु भएको छ भने ५ जना अझै बेपत्ता छन्।

पहिरोमा परी मृत्यु हुनेमा शान्ति पुन मगर, कमलबहादुर पुन मगर, जुनकुमारी पुन मगर, अशिम पुन मगर, अशोक पुन मगर, दलबहादुर पुन मगर र मनरखी पुन मगर रहेका छन्।

यसैगरी बेपत्ता भएकाहरूमा सोही ठाउँ बस्ने ८० वर्षीय अजम्बर पुन मगर, ७८ वर्षीय बल बहादुर पुन मगर, ७२ वर्षीय लीलबहादुर पुन मगर, ७१ वर्षीया मनि पुन मगर र ६७ वर्षीया हस्तकला पुन मगर छन्।

यस्तै पहिरोमा परी हिमाल पुन मगर र संजय घर्तीमगर घाइते भएका छन्। उनीहरूलाई थवाङ स्वास्थ्य चौकीमा उपचारपछि थप उपचारका लागि बुटवल पठाइएको प्रहरीले जनाएको छ।

बुधबार राति करिब ८ः४० बजे अविरल वर्षासँगै आएको पहिरोमा १४ जना परेका थिए ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार उक्त पहिरोमा परी सोही ठाउँ बस्ने मृतक कमल बहादुर पुनमगरको घरसहित छ वटा घर, गोठ तथा पशु चौपाया समेत पुरिएका थिए ।

घटनाको खबर राति करिब साढे ९ बजे पाएपछि इलाका प्रहरी कार्यालय उवाबाट प्रहरी टोली घटनास्थल पुगेको थियो।

प्रहरीले रातिदेखि नै घाइतेको उद्धार तथा बेपत्ताको खोजी कार्य जारी राखेको थियो ।

बिहीबार बिहान उज्यालो नहुँदै जिल्ला प्रहरी कार्यालय रोल्पाबाट विपद् उद्धार सामग्रीसहित १३ जनाको प्रहरी टोली थप उद्धार तथा खोजीका लागि घटनास्थलमा खटाइएको थियो ।

त्यसपछि पहिरोमा पुरिएका चार जनाको शव घटनास्थलमै फेला परेका थिए भने मृत्यु हुनेहरुमध्ये एक महिला र दुई जना पुरुषको शव प्यूठान जिल्लाको स्वर्गद्धारी नगरपालिका तथा माण्डवी गाउँपालिकास्थित माडी खोलाको किनारामा फेला परेक छन् ।

बगाएर लगेको अवस्थामा प्युठानको स्वर्गद्वारी नगरपालिका–९ स्थित माडी खोलाको किनारमा ५ जनाको शव भेटिएको थियो । जसमध्ये दुई जनाको शवको आंशिक टुक्रा मात्र भेटिएकाले पहिचान हुन सकेको छैन ।

उनीहरूको शव भेटिएपछि प्यूठानबाट समेत सशस्त्र प्रहरीको विपद् व्यवस्थापन टोली परिचालन गरी खोजीकार्य तीव्र पारिएको छ।

सम्बन्धित समाचार