काठमाडौं – कानुनमन्त्री सोविता गौतमले सातामा दुई दिन सार्वजनिक बिदा दिने व्यवस्था तत्काल पुनरावलोकन नहुने बताएकी छन्।
बिहीबार राष्ट्रिय सभामा बैठकमा सांसद विष्णुबहादुर विश्वकर्माले हप्तामा दुई दिन बिदा दिने निर्णय ‘असफल विधि’ भएको टिप्पणी गर्दै यसले शिक्षा, व्यापार र सरकारी सेवामा गम्भीर असर पुर्याएको भनी प्रश्न गरेका थिए । उक्त निर्णय खारेज गरी पुनस् हप्ताको एक दिन मात्र बिदा दिने व्यवस्थामा फर्किन सरकारसँग माग गरेका थिए।
त्यसपछि प्रधानमन्त्रीको तर्फबाट जवाफ दिँदै मन्त्री गौतमले हाल दुई दिन बिदा दिने व्यवस्था तत्काल पुनरावलोकन नहुने स्पष्ट पारेकी हुन्।
तत्कालीन इन्धन आपूर्तिमा देखिएको असहजताका कारण इन्धन खपत घटाउन तथा अन्तर्राष्ट्रिय अभ्यासलाई समेत ध्यानमा राखेर शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने व्यवस्था लागू गरिएको उनको भनाई थियो ।
‘कर्मचारीको कार्य–जीवन सन्तुलन मिलाउन, ऊर्जा तथा प्रशासनिक खर्चमा मितव्ययिता कायम गर्न र आन्तरिक पर्यटन प्रवर्द्धन गरी आर्थिक गतिविधि चलायमान बनाउन यो व्यवस्था प्रभावकारी देखिएको छ । हाललाई यो व्यवस्था परिवर्तन गर्ने सम्बन्धमा कुनै गृहकार्य भएको छैन,’ उनले भनिन् ।
मन्त्री गौतमका अनुसार दुई दिन बिदाको व्यवस्थाले सार्वजनिक प्रशासनलाई परिणाममुखी बनाउन, कर्मचारीको कार्य–जीवन सन्तुलन कायम गर्न, ऊर्जा तथा प्रशासनिक खर्च घटाउन र आन्तरिक पर्यटन प्रवर्द्धन गर्न पनि सहयोग पुगेको छ।
साथै, दुई दिन बिदाका कारण कार्यालय बिहान ९ बजे नै सञ्चालन हुने भएकाले सेवाग्राहीलाई सहज हुनुका साथै छोटो अवधिका आन्तरिक भ्रमण बढेर स्थानीय आर्थिक गतिविधि चलायमान बनाउनसमेत सहयोग पुगेको उनको भनाइ थियो ।
गत चैत २२ गते बसेको मन्त्रिपरिषद् बैठकले इन्धनको चाप घटाउन शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।
त्यसयता सरकारी कार्यालय तथा शैक्षिक संस्थामा साताको दुई दिन बिदा लागू हुँदै आएको छ।