धनकुटा – धनकुटाको छथरजोरपाटी गाउँपालिकामा यात्रुवाहक सुमो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्।
आइतबार बिहान करिब ८ः१५ बजे छथरजोरपाटी गाउँपालिका–३ बन्चरेस्थित काजीमाने–धनकुटा भित्री सडकखण्डमा को १ ज २४९४ नम्बरको सुमो ब्रेक फेल भएर सडकबाट करिब ५० मिटर तल खसेको प्रहरीले जनाएको छ।
दुर्घटनामा छथरजोरपाटी गाउँपालिका–३ की करिब ६० वर्षीया शोकमाया लिम्बुको घटनास्थलमै मृत्यु भएको हो।
दुर्घटनामा घाइते हुनेमा धनकुटा नगरपालिका–९ का चालक ३१ वर्षीय खगेन्द्र खत्री, छथरजोरपाटी–४ की ४० वर्षीया धनमाया राई र उनका ७ वर्षीय छोरा न्युहाङ सुब्बा, सोही ठाउँकी ३३ वर्षीया पुनम लिम्बु र उनकी २ वर्षीया छोरी आरध्या लिम्बु, छथरजोरपाटी–४ का २६ वर्षीय आइन्द्र लिम्बु, छथरजोरपाटी–३ का २७ वर्षीय भवानी लिम्बु, ४७ वर्षीय हेमबहादुर लिम्बु, छथरजोरपाटी–४ का ३० वर्षीय अबिन लिम्बु र छथरजोरपाटी–३ का २१ वर्षीय आशिष लिम्बु रहेका छन्।
प्रहरीका अनुसार घाइतेमध्ये आशिषको अवस्था गम्भीर, खगेन्द्र, धनमाया, न्युहाङ, आरध्या, आइन्द्र, भवानी, हेमबहादुर र अबिनको अवस्था मध्यम तथा पुनमको अवस्था सामान्य रहेको छ।
दुर्घटनाको खबर पाएलगत्तै जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरी निरीक्षक रामप्रसाद खनालको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो।
प्रहरीले घाइते सबैलाई उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल धनकुटा पठाएको जनाएको छ।
दुर्घटनाका कारण सडक अवरुद्ध नभएको र दुर्घटनाग्रस्त सुमो हटाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।