AarthikBikash
शुक्रबार, अशोज ९, २०८३
  • होमपेज
  • समाज
  • काठमाडौंका अधिकांश नाका बन्द, फाखेलमा पनि जोखिम बढ्यो

काठमाडौंका अधिकांश नाका बन्द, फाखेलमा पनि जोखिम बढ्यो

  • शुक्रबार, अशोज ९, २०८३
काठमाडौंका अधिकांश नाका बन्द, फाखेलमा पनि जोखिम बढ्यो

काठमाडौं – अविरल वर्षाका कारण काठमाडौं उपत्यका भित्रिने र बाहिरिने अधिकांश सडक बन्द भएका छन् । हाल उपत्यका भित्रिने त्रिभुवन राजपथको हेटौंडा–पालुङ–नौबिसे खण्ड मात्र सञ्चालनमा छ ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार काठमाडौं बाहिरिन फर्पिङ–फाखेल–भीमफेदी सडक भने हालसम्म सञ्चालनमा छ । तर, फाखेल खण्डमा क्रमशः जोखिम बढ्दै गएकाले यात्रामा ननिस्कन ट्राफिक प्रहरीले आग्रह गरेको छ ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी नरेशराज सुवेदीले फाखेल सडकमा जोखिम बढिरहेको भन्दै यात्रामा निश्चिन्त नहुन आग्रह गरेका छन् ।

त्रिभुवन राजपथलाई अहिले एकतर्फी रूपमा काठमाडौं भित्रिने सडकका रूपमा प्रयोग गरिएको छ । बाटोमा फसेका यात्रु तथा सवारीसाधनको उद्धारसँगै अत्यावश्यक सामग्रीको आपूर्ति सहज बनाउन उक्त सडकलाई ‘आउने’तर्फ मात्र सञ्चालन गरिएको हो ।

पृथ्वी, बीपी र कान्तिलोकपथ पूर्ण बन्द

अविरल वर्षाका कारण काठमाडौं जोड्ने पृथ्वी राजमार्ग, बीपी राजमार्ग र कान्तिलोकपथसमेत बन्द छन् । विभिन्न स्थानमा पहिरो खसेपछि बिहानैदेखि यी सडकमा सवारीसाधन सञ्चालन हुन सकेका छैनन् ।

वर्षा नरोकिएकाले सम्बन्धित जिल्लाका प्रशासन कार्यालयहरूले समेत सवारी सञ्चालनमा रोक लगाएका छन् ।

ट्राफिक प्रहरीले अति जरुरी कामबाहेक लामो दूरीको यात्रा नगर्न सर्वसाधारणलाई अनुरोध गरेको छ ।

सम्बन्धित समाचार