AarthikBikash
शुक्रबार, अशोज १६, २०८३
  • होमपेज
  • राजनीति
  • आईपीयू महासभामा जाँदै सभामुख

आईपीयू महासभामा जाँदै सभामुख

  • शुक्रबार, अशोज १६, २०८३
आईपीयू महासभामा जाँदै सभामुख

काठमाडौं – सभामुख डोलप्रसाद अर्यालले अन्तरव्यवस्थापिका संघ (आईपीयू)को महासभामा सहभागी हुन जान लागेको आफ्नो विदेश भ्रमणलाई ‘घुम्न जाने’ भ्रमणका रूपमा नबुझ्न आग्रह गरेका छन्।

आइतबार तान्जानियाको अरुसा प्रस्थान गर्न लागेका सभामुख अर्यालले शुक्रबार पत्रकार सम्मेलन गर्दै आईपीयू महासभामा सहभागी हुन संसद् अधिवेशन अन्त्य गर्न लगाएको आरोपको खण्डन गरे। आईपीयूको १५३औँ महासभा अक्टोबर ५ देखि ९ सम्म तान्जानियामा हुँदैछ।

अर्यालले आईपीयू विश्वभरका सभामुख तथा सांसदहरू सहभागी हुने महत्वपूर्ण अन्तर्राष्ट्रिय मञ्च भएको बताए।

‘संसारभरिको कानून बनाउने सभामुख र सांसदहरूको सम्मेलन हो। आफैँमा यसको गरिमा र महत्त्व साँच्चै नै महत्त्वपूर्ण छ। मेरो लागि पहिलो भिजिट हो,’ उनले भने।

आफ्नो भ्रमणलाई लिएर ‘घुम्नकै लागि सदन बन्द गरेको’ भन्ने टिप्पणी सुनेको भन्दै उनले त्यसप्रति व्यङ्ग्यात्मक शैलीमा असन्तुष्टि जनाए।

‘थाहा हुँदाहुँदै पनि कहिलेकाहीँ घुम्नै जानको लागि सदन बन्द गरेको, काम कारबाही नै रोकेको भनेको जस्तो पनि कतै पढ्न पाएँ,’ अर्यालले भने, ‘खुसी पनि लाग्छ, साथीहरूले त्यसरी टिप्पणी गर्नुभएको थियो र नै आज मैले भन्न पाएँ। त्यो नगर्नुभएको भए त मैले भन्न पनि पाउँदैनथेँ होला। त्यसकारण लेख्ने मित्रहरूलाई पनि धन्यवाद।’

सभामुख अर्यालसहितको टोली आइतबार तान्जानिया प्रस्थान गर्ने तयारीमा छ। भ्रमण टोलीमा सांसद तथा संघीय संसद् सचिवालयका अधिकारीसमेत सहभागी हुँदैछन्।

अन्तर्राष्ट्रिय मञ्चमा नेपालको विपद्को कुरा उठाउने

अर्यालले आईपीयू महासभामा नेपालले पछिल्लो समय भोगेको महाविपत्तिको विषयलाई अन्तर्राष्ट्रिय समुदायसमक्ष उठाउने बताएका छन्।

नेपालले कार्बन उत्सर्जनमा नगण्य योगदान गरे पनि जलवायुजन्य विपद्का कारण ठूलो क्षति व्यहोर्नुपरेको विषय अन्तर्राष्ट्रिय मञ्चमा राख्ने उनको भनाइ छ।

‘हामीले अन्तर्राष्ट्रिय स्तरमा संसारलाई देखाउने, बुझाउने, सुनाउने हाम्रो लागि मौका हो। जसले गर्दा कार्बन उत्सर्जनमा नगण्य भूमिका हुँदाहुँदै पनि हामीले क्षति भोग्नुपरेको छ,’ उनले भने, ‘जसरी प्रधानमन्त्रीले न्युयोर्कमा आफ्नो मन्तव्यमा राख्नुभयो, त्यसैगरी संसारका सभामुख र सांसदहरूकहाँ मैले राख्छु।’

यसअघि सभामुख अर्यालले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरी आईपीयू महासभामा सहभागी हुन आइतबार तान्जानिया प्रस्थान गर्नेबारे जानकारी गराएका थिए।

आईपीयूको १५३औँ महासभामा विश्वभरका सांसदहरू सहभागी हुँदैछन्। महासभाको मुख्य विषय ‘समावेशिता, विश्वास र सबैका लागि अवसरमार्फत सुशासन सुदृढीकरण तथा समुदाय सशक्तीकरण’ रहेको छ।

सम्बन्धित समाचार