काठमाडौं – सरकारले विपद्का कारण बेपत्ता भएका व्यक्तिलाई ४५ दिनमै कानुनी रूपमा मृत घोषणा गर्न सकिने व्यवस्था गर्न लागेको छ।
हाल कायम १२ वर्षे समयसीमा घटाएर यस्तो व्यवस्था गर्न सरकारले कानुन संशोधनको तयारी गरेको हो।
रसुवा बाढीमा ठूलो संख्यामा मानिस बेपत्ता भएपछि उनीहरूका परिवारलाई राहत तथा कानुनी सुविधा उपलब्ध गराउन विद्यमान व्यवस्था बाधक बनेको भन्दै सरकारले विपद्सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश ल्याउने निर्णय गरेको हो।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।
हाल प्रचलित कानुनी व्यवस्थाअनुसार कुनै व्यक्ति १२ वर्षसम्म बेपत्ता रहेपछि मात्रै मृत घोषणा गर्न सकिने प्रावधान छ।
प्रस्तावित व्यवस्थाअनुसार भने विपद्का कारण बेपत्ता भएका व्यक्तिलाई करिब ४५ दिनपछि नै मृत घोषणा गर्न सकिने व्यवस्था गरिनेछ।