काठमाडौं – नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्या भण्डारीले पार्टीको वरिष्ठ नेताको शपथ लिएकी छन्।
पार्टी मुख्यालय च्यासलमा जारी ११औँ महाधिवेशनपछि गठित स्थायी कमिटीको पहिलो बैठक सुरु हुनुअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले भण्डारीलाई वरिष्ठ नेताको शपथ गराएका हुन्।
एमाले केन्द्रीय कमिटीको असोज ६ गते बसेको बैठकले पूर्वराष्ट्रपति भण्डारीलाई वरिष्ठ नेता बनाउँदै अध्यक्ष ओलीपछि रहने गरी वरीयता निर्धारण गरेको थियो।
वरिष्ठ नेतामा मनोनीत भएपछि भण्डारी आज पहिलोपटक पार्टीको औपचारिक बैठकमा सहभागी भएकी हुन्।
उनको पार्टी राजनीतिमा पुनरागमनसँगै एमालेभित्रको राजनीतिक समीकरण र नेतृत्वको आगामी भूमिकालाई चासोका साथ हेरिएको छ।