जनकपुरधाम – मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले आज पद तथा गोपनीयताको शपथ लिँदैछन्।
प्रदेश प्रमुखको कार्यालयका अनुसार यादवले बिहान १० बजे शपथ लिने कार्यक्रम तय भएको छ। प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णले उनलाई शपथ गराउनेछन्।
तोकिएको समयसीमाभित्र कुनै पनि राजनीतिक दलले प्रदेशसभामा बहुमतको दाबी पेस गर्न नसकेपछि जनता समाजवादी पार्टी (जसपा) संसदीय दलका नेतासमेत रहेका यादव शनिबार मुख्यमन्त्री नियुक्त भएका हुन् ।
संविधानको धारा १६८ को उपधारा (३) बमोजिम प्रदेशसभाको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताका हैसियतमा उनी मुख्यमन्त्री नियुक्त भएका हुन्।
१०७ सदस्यीय मधेस प्रदेशसभामा सरकार गठनका लागि कम्तीमा ५४ सांसदको समर्थन आवश्यक पर्छ। तर, सबैभन्दा ठूलो दल जसपासँग २७ सांसद मात्रै छन्।
प्रदेशसभामा दोस्रो ठूलो दल नेकपा एमालेका २३, नेपाली कांग्रेसका २२, नेपाली कम्युनिस्ट पार्टीका १५ र जनमत पार्टीका १२ सांसद छन्। त्यस्तै, संघीय समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक–एक सांसद छन्।
मुख्यमन्त्री नियुक्त भए पनि यादव नेतृत्वको सरकारले निरन्तरता पाउन भने प्रदेशसभाबाट विश्वासको मत लिनुपर्नेछ। संवैधानिक व्यवस्थाअनुसार उनले नियुक्त भएको ३० दिनभित्र प्रदेशसभामा विश्वासको मत लिनुपर्ने हुन्छ। विश्वासको मत प्राप्त गर्न नसके यादव नेतृत्वको सरकारको निरन्तरता संकटमा पर्नेछ ।