काठमाडौं – सरकारले २०औँ एशियाली खेलकुदमा पदक प्राप्त गर्ने खेलाडीहरुलाई नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिषद्को बैठकले जापानको आईची–नागोयामा भएको २०औँ एशियाली खेलकुदमा पदक प्राप्त गर्ने महिला कबड्डी र कराँते खेलका खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकलाई नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले विश्व बैंकसँग नेपाल अर्थक्वेक क्याटास्ट्रोपी बन्डसम्बन्धी म्यान्डेड एग्रिमेन्टमा हस्ताक्षर गर्न स्वीकृति दिने समेत निर्णय पनि गरेको छ ।
साथै, बिटौरी जग्गामा बसोबास गरी आएका व्यक्तिहरुको नाममा जग्गा दर्ता गर्नेसम्बन्धी समिति गठन आदेश, २०८३ स्वीकृत गर्ने र नेपाल न्याय सेवा, सरकारी समूहका सहन्यायाधिवक्ता अच्युतमणि नेउपानेलाई राजपत्राङ्कित विशिष्ट श्रेणीमा बढुवा गरी बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको सचिव पदमा पदस्थापन गर्ने निर्णय गरेको छ ।